महिलालाई फ्रुटी खुवाएर बेहोस बनाई गरगहना लुट्ने गिरोह पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा महिलालाई फ्रुटी जुसमा नसालु पदार्थ खुवाएर बेहोस बनाई सुनका गरगहना, नगद र मोबाइल लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

लुटपाटमा संलग्न दुई जना र चोरीको सुन खरिद गर्ने एक जना सुन पसल सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ५३ वर्षीय केदार श्रेष्ठ, बुद्धकुमार श्रेष्ठ तथा चोरीको सुन खरिद गर्ने भक्तपुर मध्यपुरथिमि–४ स्थित जय शिव शक्ति ज्वेलर्सका सञ्चालक नवराज घिमिरे (विक) रहेका छन् ।

बनेपामा कसरी भयो घटना ?

प्रहरीका अनुसार यही असार १ गते दिउँसो करिब ३ः४० बजे बनेपा नगरपालिका–५, रविओपी बसपार्क अगाडि धुलिखेल–१ निवासी ५२ वर्षीया निरकुमारी घोरासाइने बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयले उद्धार गरी शिर मेमोरियल अस्पताल पुर्‍याएपछि घटनाबारे इलाका प्रहरी कार्यालय बनेपालाई जानकारी भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट पीडित महिलालाई नसालु पदार्थ मिसाइएको पेय पदार्थ फ्रुटिमा नशालु पदार्थ मिलाई पिउन लगाइ बेहोस बनाएर उनले लगाएका सुनका गरगहना, नगद र मोबाइल लुटिएको खुलेको थियो ।

सीसी टीभीबाट खुल्यो गिरोह

घटनास्थल वरपर जडान गरिएका सीसी टीभी फुटेज विश्लेषण गर्दा दुई जना पुरुषले योजनाबद्ध रूपमा महिलालाई झुक्याई नसालु पदार्थ खुवाएको र बा ९१ प ६७५३ नम्बरको २२० सीसी रातो–कालो पल्सर मोटरसाइकल प्रयोग गरी घटना स्थल बाट फरार भएको देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा असार ७ गते बुद्धकुमार श्रेष्ठलाई चोरीमा प्रयोग भएको मोटरसाइकलसहित बनेपा–८ बाट पक्राउ गरिएको थियो । पीडितले प्रहरीसमक्ष उनलाई सनाखत गर्दै बैंक देखाइदिने बहानामा आफूलाई फकाएर गर्मी लागेको भन्दै फ्रुटी पिउन लगाएको र त्यसपछि बेहोस भएको बयान दिएकी थिइन् । बुद्धकुमारको बयानका आधारमा केदार श्रेष्ठलाई असार ११ गते भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरीको सुन गालेर बेचिएको खुलासा

अनुसन्धानका क्रममा लुटिएको सुन भक्तपुर मध्यपुरथिमी–४ स्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेपछि प्रहरीले पसलमा खानतलासी गरेको थियो। त्यहाँ गालिएको अवस्थामा चोरीको सुन बरामद भएपछि पसल सञ्चालक नवराज घिमिरे (विक) लाई समेत पक्राउ गरिएको र थप अनुसन्धान को लागि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका प्रमाणमध्ये रु २० हजार ५०० नगद तथा अन्य प्रमाणहरू प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसअघि पनि यस्तै शैलीका अपराध

प्रहरी अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरू विगतदेखि नै यस्तै प्रकृतिका अपराधमा संलग्न रहेको खुलेको छ ।
२०७३ जेठ २८ मा तनहुँको बन्दीपुरमा ७२ वर्षीया रेणुका देवी कामीलाई नसालु पदार्थ खुवाई सुनको औँठी लुटिएको घटना ।
२०८३ जेठ ८ मा तनहुँ व्यास–१ मा ५५ वर्षीया श्रीमाया आलेलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाई सुनका रिङ र मुन्द्री लुटिएको घटना ।

२०८३ वैशाख ७ मा बनेपा–७ पुण्यमाता क्षेत्रमा ६८ वर्षीय उदयनारायण तिमल्सिनालाई बैंक देखाइदिने बहानामा नसालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाई रु।७० हजार नगद र सुनको औँठी लुटिएको घटना ।

प्रहरीका अनुसार उक्त औँठी पनि गालिएको अवस्थामा बरामद गरिएको छ । यसअघि २०६५ सालमा पाल्पामा पनि यस्तै घटनामा बुद्धकुमार श्रेष्ठ पक्राउ परेका थिए । उक्त मुद्दामा उनलाई ५ वर्ष १ महिना १५ दिन कैद सजाय भएको र कैद भुक्तान गरी छुटेको अभिलेख रहेको प्रहरीले जनाएको छ । सोही घटनामा केदार श्रेष्ठ पक्राउ परे पनि अदालतबाट सफाइ पाएको बुझिएको छ ।

अर्को सुन चोरी प्रकरण पनि खुल्यो

यही अनुसन्धानका क्रममा धुलिखेल नगरपालिका–७ मा एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने घटनामा संलग्न अजय तामाङ र कमल बराइलीलाई समेत प्रहरीले पक्राउ गरेको छ। चोरी भएको सुन गालिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता योजनाबद्ध लुटपाट तथा चोरीमा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ । साथै अपरिचित व्यक्तिबाट खानेकुरा वा पेय पदार्थ नखान तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया