अमेरिकी राष्ट्रपतिको सरकारी निवास बाहिर गोली चल्यो

(AP Photo/Alex Brandon)

काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन् । स्थानीय समय अनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

अमेरिकी सिक्रेट सर्विसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेका थिए । ड्युटीमा रहेका सिक्रेट सर्विसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै संदिग्धमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका ती बन्दुकधारीलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

(AP Photo/Jose Luis Magana)

एक महिना अघि मात्र ह्वाइट हाउसमै पत्रकारहरुका लागि आयोजना गरिएको डिनरमा पनि एक बन्दुकधारीले गोली चलाएको घटना सार्वजनिक भएको थियो, जसका कारण यस क्षेत्रको सुरक्षा संवेदनशीलता झन् बढेको छ ।

गोलीबारीको आवाज सुन्नासाथ ह्वाइट हाउस परिसरमा रहेका दर्जनौं पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा ‘प्रेस ब्रिफिङ रुम’ भित्र लगेका थिए । त्यसपछि ह्वाइट हाउसलाई पूर्णरूपमा लकडाउन गरिएको थियो । घटनाको करिब एक घण्टापछि (स्थानीय समय ७ बजे) मात्र लकडाउन खोलिएको थियो ।

U.S. Secret Service Police examine a crime scene after responding to reports of shots fired near the White House, Saturday, May 23, 2026, in Washington. (AP Photo/Alex Brandon)

प्रतिक्रिया