
कालिकोट । महाबै गाउँपालिकामा सम्पन्न खुला क्रिकेट प्रतियोगितामा शुभकालिका गाउँपालिकाको टिम प्रथम हुन सफल भएको छ । रोमाञ्चक फाइनल खेलमा शुभकालिकाले पलाँता गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो ।
महाबै गाउँपालिका खेलकुद शाखाको आयोजना तथा ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको सहयोग तथा सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको थियो । ग्रामीण क्षेत्रमा खेलकुदको विकास, युवामा अनुशासन र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको पलाँता गाउँपालिकाको टिमले निर्धारित १५ ओभरमा ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको शुभकालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै १२ ओभरमै ९० रन पूरा गरी उपाधिमाथि कब्जा जमाएको हो । शुभकालिकाका खेलाडीहरूले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए भने पलाँताका बलरहरूले पनि उत्कृष्ट प्रयास गरेका थिए । मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने शुभकालिका गाउँपालिकाको टिमलाई कप, मेडल, प्रमाणपत्रसहित नगद ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । यस्तै, उपविजेता पलाँता गाउँपालिकाको टिमलाई कप, मेडल, प्रमाणपत्रसहित नगद ३५ हजार रुपैयाँ प्रदान गरिएको निरक सिंहले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै शुभकालिका खेलकुद विकास समितिका अध्यक्ष विनोद शाहीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक तथा सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि शुभकालिकाको टिम अझ सशक्त रूपमा खेलकुद गतिविधिमा सक्रिय रहने बताएका छन् । उनले खेलले युवालाई सकारात्मक बाटोमा अघि बढाउने उल्लेख गर्दै गाउँ–गाउँमा यस्ता प्रतियोगिता आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतियोगिता सम्पन्न भएको अवसरमा खेल मैदान निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय जग्गाधनीहरूलाई सम्मानसमेत गरिएको थियो । सेरामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, खेलप्रेमी तथा विभिन्न पालिकाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ग्रामीण क्षेत्रमा क्रिकेटप्रतिको बढ्दो आकर्षणसँगै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै सामाजिक एकता र आपसी सद्भाव मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । यस्तै, फाइनल खेलमा ‘म्यान अफ द म्याच’ शुभकालिकाका खेलाडी निराजन शाही र ‘बेस्ट बलर’ को पुरस्कार विपुल शाहीले पाएका थिए ।

कालिकाेट
प्रतिक्रिया