भोलि बिहीबार प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्री वालेनसँग प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि वैशाख ३१ गते बस्ने भएको छ । आज बुधबार विपक्षी दलहरुको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सँग सांसदहरूको प्रश्नोत्तर हुने सभामुखले जानकारी दिए ।

‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३–०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनको लागि समेत प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको तोकेको जानकारी गराउँछु,’ सभामुख अर्यालले भने ।

सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिती हुनुपर्ने मागसहित विपक्षीले आज तीन पटकसम्म बसेको बैठक अवरुद्ध गरेका थिए ।

दुई पटक स्थगित भएपछि आज संसद चल्न सकेन । तेस्रो पटक सञ्चालनको प्रयास भए पनि बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध जारी राखेपछि सदन अघि बढ्न सकेन । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया