
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (संखुवासभा) लाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उनलाई आज सचिवमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघिका सचिव हर्कराज राईलाई पदमुक्त गरेपछि अधिकारीलाई नयाँ सचिवमा नियुक्त गरिएको हो । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवलाई सभामुख तथा राष्ट्रियसभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ ।
अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन् । अधिकारी खाँदबारी नगरपालिका– ३ संखुवासभाका हुन् । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया