
काठमाडौं । विपक्षी दलहरुले हंगामा गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्ष दलका सांसदहरुले हंगामा गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो । तर, प्रधानमन्त्री शाह उपस्थित भएनन् ।
प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो । तर, विपक्षी दलले भने प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका थिए ।
विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यक्रम थियो ।
आकस्मिक समय र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेपछि सभामुख डिपी अर्यालले आव २०८३–०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको जानकारी गराएका थिए । त्यसलगत्तै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाए ।
सदनको कारबाहीमा अवरोध भएपछि सभामुख अर्यालले पटक–पटक सदनलाई मर्यादित बनाउन आग्रह गरे । विपक्षी दलका सांसदहरुलाई आफूले बोल्न दिने आग्रह गर्दै सभामुखले सदनलाई मर्यादित बनाउन र सदनलाई नियमित सञ्चालन गर्नुपर्ने बताए ।
विपक्षी दलका सांसदहरुले लगातार विरोध जनाएपछि प्रमुख विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिए । सांसद केसीले प्रधानमन्त्री शाहको उपस्थिति जरुरी भएको दोहोर्याए ।
उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको, सांसदहरुको धारणा सुन्नुपर्ने र जवाफ दिनुपर्नेमा जोड दिए । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बेलामा नआए पनि सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐनबहादुर महरले कार्यसूचीमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने विषय उल्लेख भएको बताउँदै उनको सदनमा उपस्थिति आवश्यक रहेको बताए ।
सोही दलका सांसद गुरु बरालले प्रधानमन्त्रीको सदनमा उपस्थिति आवश्यक भएकामा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा उनको तर्फबाट मन्त्रीले छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्नसक्ने व्यवस्था संसद्को नियमावलीमा रहेको जानकारी दिए ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले संघीय संसदमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको र आफूहरुले उनको धारणा सुन्न पाउनुपर्ने बताउए । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि सदनमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक भएको बताए ।
प्रतिक्रिया