
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहलाई बोलाउन सभामुखमार्फत रुलिङको माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक तथा सांसद निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै तत्काल सभामा बोलाउन माग गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ माग गरे । ‘हजुर हाम्रो नायक पनि हो, तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’
सरकारकै नीति तथा कार्यक्रममाथि छलफल भइरहेकाले प्रधानमन्त्रीको उपस्थिति यसअघि पनि माग राखिएको उनले सम्झिए । तर आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिप्रति उनले असन्तुष्टि जनाए ।
‘हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो,’ राईले भने, ‘प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन ।’
यही २८ गते सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिरहेको समयमा प्रतिनिधिसभाबाट प्रधानमन्त्री शाह एकाएक बाहिरिएका थिए । यस विषयको पनि व्यापक आलोचना भइरहेको छ ।
प्रतिक्रिया