सभामुखको जोडबलमा हटाइए प्रतिनिधिसभा सचिव, संसद्का कर्मचारी असन्तुष्ट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । वैशाख २८ गते सभामुखले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले राईलाई पदमुक्त गरेका हुन् । बजेट अधिवेशन सुरु हुनुअगावै सभामुख अर्याल प्रतिनिधिसभाका सचिव राईलाई हटाएर आफूअनुकूल सचिव ल्याउने तयारीमा थिए । तर, राईको दोस्रो स्पष्टीकरण ढिलो गरी आएपछि उनलाई हटाउने प्रक्रिया केही दिनका लागि रोकिएको थियो ।

सभामुखले ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५’ अनुसार राईलाई स्पष्टीकरण सोधेका थिए । उक्त ऐनको दफा ६ मा सचिवको पद रिक्तसम्बन्धी व्यवस्था छ । जसमा खण्ड (ङ) मा कार्यक्षमताको अभाव, खराब आचरण वा आफ्नो पदीय कर्तव्यको पालना इमानपूर्वक नगरेको भनी सभामुखले राष्ट्रपतिसमक्ष सिफारिस गरेमा पदबाट हटाउन सकिने व्यवस्था छ भने त्यसरी हटाउँदै गर्दा सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्ने उल्लेख छ । यसैका आधारमा सभामुखले स्पष्टीकरण सोधेका थिए । २ पटकसम्म स्पष्टीकरण सोधेपछि चित्त नबुझेको भन्दै अर्यालले राईलाई हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । सुरुमा सभामुख अर्यालले राईलाई मार्गप्रशस्त गर्न अनुरोध गरेका थिए । तर, राईले आफू राजीनामा नदिने बरु स्पष्टीकरण फेस गर्ने जबाफ दिएका थिए ।

नेपालमा २०६२ पछिको संसदीय अभ्यासमा पहिलो पटक सभामुखले सचिवलाई हटाउने सिफारिस गरेका हुन् । यसअघि सभामुखको आग्रहमा सचिवहरूले राजीनामा दिने गरेका थिए । राईलाई निवर्तमान सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गरेका थिए । तर, यो घटनासँगै संसद् सचिवालयका माथिल्लो तहका कर्मचारी भने रुष्ट देखिएका छन् । संसद्को सचिवलाई स्पष्टीकरण सोधेर हटाउनु स्वाभाविक नभएको कर्मचारीहरूको धारणा छ । अब सभामुखले सचिवालयभित्रकै वा बाहिरबाट योग्यता पुगेको व्यक्तिलाई सचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्न सक्छन् । तर, संसद् सचिवालयकै माथिल्लो तहका कर्मचारीहरू भने सभामुखले सचिवमा प्रस्ताव गरे पनि नजाने मुडमा छन् ।

विगतको अभ्यास हेर्ने हो भने सचिवालयभित्र भन्दा पनि बाहिरबाटै सभाको सचिव ल्याउने गरिएको छ । ‘यहीँभित्रकालाई सचिव बनाउने हो भने त कोही पनि तयार हुँदैनन् जस्तो लाग्छ । हामी कसैको पिएजसरी काम गर्ने कर्मचारी होइनौँ,’ उच्च तहका एक कर्मचारीले भने, ‘सभामुखज्यू तयारीकै साथ आउनुभएको छ, उहाँले आफ्नै कोहीलाई सचिवमा सिफारिस गर्नुहोला ।’

संघीय संसद्मा महासचिवबाहेक ४ जना सचिव रहन्छन्, जसमा १ जना प्रतिनिधिसभा र १ जना राष्ट्रियसभाका सचिव र अन्य २ जना सचिवालय सचिवका रूपमा रहन्छन् । उनीहरूको नियुक्ति र पदमुक्ति सभामुख र राष्ट्रियसभा अध्यक्षको तजबिजका आधारमा राष्ट्रपतिबाट हुने गरेको छ । सामान्यतया सचिवालय सचिवहरू संसद् सेवाबाटै बढुवाका आधारमा आउने गरेका छन् भने सभाका सचिव सभामुख र अध्यक्षले सिफारिस गर्ने गरेका छन् ।

प्रतिक्रिया