कांग्रेस सांसद बासना थापाले मागिन् प्रतिनिधिसभामा राष्ट्रपति बोल्दा बोल्दै बाहिरिएका प्रधानमन्त्री वालेनको जवाफ

काठमाडों । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) संसद बैठकबाट बाहिरिएको घटनामा जवाफ माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो, राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसदबाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ थापाले भनिन् ।

संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्नेमा कांग्रेसलाई लागेको थापाको भनाइ छ ।

‘यस विषयमा स्पष्ट जवाफ दिइयोस्, यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’

सोमबार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रमको विषयमा वाचन गरिरहँदा प्रधानमन्त्री शाह बाहिरिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया