
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूबीच एकता र अनुशासन कायम राख्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति रवि लामिछानेले ललितपुरमा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको समापनलाई आइतबार सम्बोधन गर्दै पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्र ‘म यो समूहको, त्यो समूहको’ भन्ने खालका हल्लाले अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता गतिविधि पूर्ण रूपमा रोक्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । ‘रविको मान्छे र बालेनको मान्छे हो’ भन्दै हल्ला गर्ने प्रवृत्ति बढेको भन्दै उनले पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन पनि दिए ।
‘साथीहरू, पार्टीमा कुनै समूह र गुट छैन । कसैले छ भन्यो भने पनि विश्वास नगर्न आग्रह गर्छु । कहिलेकाहीँ साथीहरूले बालेन–रवि, रवि–बालेन, म यताको, म उताको भनेको सुन्छौँ । हामी यस्ता कुराहरू छलफल गर्ने गर्छौं । यो सुनेर प्रधानमन्त्रीजी र म बडो हाँस्छौँ,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने । उनले व्यक्तिगत सम्बन्ध वा धारणा आधारमा राजनीतिक निर्णय नलिनसमेत आग्रह गरेका छन् ।
पार्टीभित्र कुनै पनि प्रकारको विभाजन छैन र यस्तो हुने सम्भावनासमेत नरहेको उनको भनाइ थियो । लामिछानेले राजनीतिक दलहरूबीच विगतमा भएको असमझदारी र असहकार्यका कारण देश विकासमा ढिलाइ भएको उल्लेख गर्दै अहिलेको पुस्ताले त्यस्ता गल्ती दोहोरिन नदिनुपर्ने धारणा राखे । उनका अनुसार रास्वपा नेतृत्व र सरकारबीच नीतिगत समन्वयका आधारमा काम भइरहेको छ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको भविष्यलाई प्राथमिकतामा राखिएको छ ।
सभापति लामिछानेले सञ्चार माध्यमहरूमा आउने विभाजनसम्बन्धी हल्लाप्रति असन्तुष्टि जनाउँदै यस्ता समाचारले वास्तविकता विकृत गर्ने प्रयास भएको टिप्पणी गरे । उनले पार्टी राजनीतिक रूपमा परिपक्व भइसकेको दाबी गर्दै बाह्य अनुमानका आधारमा संगठनभित्र दरार देख्न खोज्नु गलत हुने बताए । राजनीतिमा मिल्नुपर्ने मान्छेहरू झगडा गरेकाले हामी ७० वर्ष पछि परेका छौँ । ‘मिडियाका साथीहरू अब त यिनीहरू फुट्छन् कि भनेर मुख मिठ्याउनुहुन्छ । बास्ना चल्ला, तर खाना आउँदैन । सर्भिस हुनेवाला छैन । हामी राजनीतिकरूपमा परिपक्व छौँ । हामी हुर्किसक्या छौँ । तपाईंहरूलाई कसैले म त यताको, उताको भनेर झुक्याइदेला । झुक्यानमा पर्नुभयो भने फेरि अर्को अवसरबाट वञ्चित हुनुहोला । त्यहीँ अल्मलिनुभएको छ भने यु टर्न लिइहाल्नुस्,’ उनले थपे ।
कार्यक्रममा उनले सरकारका हालका नीतिगत निर्णयहरू जनताको हितलाई ध्यानमा राखेर अघि बढाइएको उल्लेख गरे । उनका अनुसार केही कानुनहरू छिटो प्रक्रियाबाट अघि बढाउनु आवश्यक भएकाले अध्यादेशमार्फत काम भइरहेको छ । तर यस्ता कदमहरू जनताको सेवा प्रवाहलाई सहज बनाउन केन्द्रित रहेको उनले स्पष्ट पारे । लामिछानेले सुकुमवासी र भूमिहीन नागरिकका समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै दीर्घकालीन समाधानका लागि आयोग गठनलगायतका पहलहरू अघि बढाइने जानकारी दिए । कुनै पनि नागरिकलाई घरबारविहीन बनाउने नीति सरकारको नभएको उनको भनाइ थियो ।
त्यस्तै, उनले संसद् र पार्टीका सांसदहरूलाई व्यक्तिगत प्रतिष्ठा वा लाभभन्दा माथि उठेर काम गर्न निर्देशन दिए । जनताले दिएको जिम्मेवारीलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले नीति निर्माणमा जनताको भावना र आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गरे । लामिछानेले देशलाई परिवर्तनको दिशामा अघि बढाउने जिम्मेवारी अहिलेका जनप्रतिनिधिहरूको काँधमा आएको बताउँदै विगतका राजनीतिक आन्दोलनहरूले व्यवस्था परिवर्तन गरे पनि अपेक्षित विकास नआएको टिप्पणी गरे । अब अवस्था बदल्नेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार जनताले रास्वपालाई विश्वासका साथ समर्थन गरेका कारण पार्टीले त्यो अपेक्षाअनुसार काम गर्नुपर्ने दायित्व रहेको छ । सांसदहरूलाई उनले समूहगत विभाजनमा नलागी साझा लक्ष्यका साथ अघि बढ्न निर्देशन दिएका छन् । कार्यक्रमको समापनमा उनले राज्यका विभिन्न निकायसँग समन्वय गरी विकास निर्माण, नीति सुधार र सुशासनका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । सरकार जनताको हितमा काम गरिरहेको र त्यसलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उनको निष्कर्ष थियो ।
प्रतिक्रिया