
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।
रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताए ।
‘सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दै छ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?’, सभापति लामिछानेले प्रश्न गरे । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उनले उल्लेख गरे ।
सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताए । ‘तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढंगबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसंगत भएन’, उनले भने ।
भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहिुने बताए । ‘नदी किनारमा, ढल बगेको ठाउँमा, प्रदूषणको सामुन्ने ३०औँ वर्ष बिताउँदा कति नागरिकको अल्पायूमै ज्यान गयो होला र कतिको भविष्य अन्धकार भयो होला ? आज त्यसका बारेमा चासो दिइयो ?’, उनले प्रश्न गरे ।
सभापति लामिछानले सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरिरहेका निकायको क्षमतालाई एकीकृत गरेर क्षति कम गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए ।
पार्टीका महामन्त्री एवं पार्टी–संसद्–सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले बर्सेनि प्राकृतिक विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सघाउ पुर्याउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताए ।
‘पार्टी, संसद् र सरकारबीच आवश्यक समन्वय नभएको अवस्थामा नीति एकातिर र नियती अर्कातिर हुन्छ’, उनले भने, ‘आजको नीति मन्थलले यी तीन निकायबीचको समन्वयलाई थप कसिलो बनाउनेछ ।’
छलफलबाट आएका निष्कर्ष र सुझाव सांसदहरुका लागि प्रमाण, मन्त्रीका लागि कार्ययोजना बनाउने मार्गचित्र बन्ने महामन्त्री शाहको भनाइ थियो । ‘विपद् आउँदा हारगुहार गर्ने प्रवृत्तिलाई पूर्वसतर्कता र पूर्वतयारीमा बदल्नु पर्छ’, उनले भने, ‘रास्वपाले आफ्नो सांगठनिक संरचनालाई निर्वाचन जित्न मात्रै नभई संकटमा नागरिकको सारथी बन्नका लागि तयार पारेको हो ।’
पार्टीमा आबद्ध स्वयंसेवकलाई विपद्का समयमा उद्धार र राहतका लागि स्थानीयस्तरमै परिचालन हुन सक्ने गरी प्रशिक्षित बनाइने उल्लेख गर्दै संयोजक शाहले सूचना प्रवाह र सञ्चारमा स्थानीय संयन्त्रले पूर्वचेतावनी प्रणालीका रुपमा काम गर्ने बताए । छलफलबाट प्राप्त हुने सुझावका आधारमा आगामी मनसुनमा बाढीपहिरो र सरुवा रोगबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया