
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा देशभरका आफ्ना क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, देशैभरका ६,७४३ वडामा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहपूर्वक भइरहेको छ । यस प्रक्रियालाई थप सरल, छिटो र आधिकारिक बनाउन पार्टीले नयाँ प्रविधि अपनाएको हो ।
विज्ञप्तिमा जनाइए अनुसार सम्पूर्ण क्रियाशील सदस्यहरूले आफ्नो आधिकारिक मोबाइल नम्बरमार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक मोबाइल नम्बर ९७०१२५५५५५ मा एक पटक सम्पर्क गरी आफ्नो नम्बर सूचीकृत गराउनुपर्ने छ ।
यसरी सूचीकृत भएको नम्बरमार्फत वडा सभापतिमार्फत फारम भर्ने प्रक्रिया सहज हुने र सदस्यता अद्यावधिक गर्ने कार्यले वैधानिकता पाउने पार्टीले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा डिजिटल प्रणालीमार्फत पार्टीको संगठनलाई थप सुदृढ र पारदर्शी बनाउन यो कदम चालिएको उल्लेख छ ।

प्रतिक्रिया