रुसी दूतावासको आयोजनामा विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो

काठमाडौं । ८१औँ विजयोत्सवको अवसरमा यहाँस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा शुक्रबार तस्विर प्रदर्शनी तथा विविध सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमअन्तर्गत बिहान ‘भिक्ट्री अटो र्याली’ निकालिएको थियो । विजय र ‘अमर रेजिमेन्ट’ का झण्डाहरू फहराउँदै सजाइएका सवारी साधनहरूको र्याली नेपाल उक्त केन्द्रबाट सुरु भई रुसी दूतावाससम्म पुगेको थियो । र्यालीका सहभागीले महान दोस्रो विश्वयुद्धमा भाग लिएका आफ्ना आफन्तका तस्बिरहरू समेत बोकेका थिए ।

सोभियत संघका जनताले मातृभूमिको रक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको इतिहास तस्विरका माध्यमबाट प्रस्तुत गरिएको छ । प्रदर्शनीको उद्घाटन नेपालका लागि नवनियुक्त रुसी महासंघका राजदूत एलेक्सी सुरोवत्सेभले गरे ।

राजदूत सुरोवत्सेभले विजय दिवसलाई ‘आँसुका साथ मनाइने उत्सव’ भन्दै त्यसले विश्व शान्तिका लागि गरिएको बलिदानको सम्झना गराउने बताए । उनले सोभियत संघका जनताको एकता र आत्मत्याग नै विजयको प्रमुख आधार भएको उल्लेख गर्दै नाजी विचारधाराको पुनरुत्थान अस्वीकार्य रहेको बताए ।

त्यस अवसरमा सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वविद्यार्थी, मित्रकुञ्जका सदस्य तथा विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो । हरेक वर्ष मे ९ मा रुसी महासंघमा विजयोत्सव मनाइन्छ ।

प्रतिक्रिया