
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो महत्वपूर्ण भ्रातृ संस्था ‘नेपाल महिला संघ’ को तदर्थ समिति अध्यक्षमा चितवनकी मीनाकुमारी खरेललाई नियुक्त गरेको छ । पार्टी सभापति गगनकुमार थापाले विधानबमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघलाई पुनः गठन गर्दै खरेललाई नेतृत्व सुम्पिएका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार नयाँ नेतृत्वलाई आगामी २०८३ फागुन १५ गतेभित्र अनिवार्य रूपमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ ।
यस्तो छ महाधिवेशन केन्द्रित समयतालिका
१– जेष्ठ १५ भित्र सबै क्षेत्र, वर्ग र भूगोलको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने ।
२– श्रावण १ भित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्नुपर्ने ।
३– श्रावण मसान्त भित्र देशैभरका रिक्त तल्लो तहका समितिहरू पुनर्गठन गरिसक्नुपर्ने ।
४– फागुन १५ भित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व हस्तान्तरण गर्नुपर्ने ।
महाधिवेशन बाहेक महिला संघलाई सामाजिक र राजनीतिक रूपमा सक्रिय बनाउन हटलाइन सेवादेखि डिजिटल अभिलेख सम्मका योजना कार्यादेशमा समेटिएका छन् । संघले अब साइबर बुलिङ र महिला हिंसाका पीडितका लागि निःशुल्क कानुनी सहायता र हेल्पडेस्क सञ्चालन गर्नेछ ।
त्यसैगरी, दाइजो, बोक्सी र छाउपडी जस्ता कुप्रथाविरुद्ध सामाजिक अभियान चलाउने तथा वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूलाई उद्यमशीलतामा जोड्ने जिम्मेवारी पनि नयाँ समितिलाई दिइएको छ ।
पार्टीले संगठनमा पारदर्शिता कायम गर्न र कुनै पनि आपराधिक वा गलत आचरणमा संलग्न व्यक्तिलाई आबद्ध नगर्न समेत कडा निर्देशन दिएको छ । लामो समयदेखि अधिवेशन हुन नसकेको महिला संघले नयाँ नेतृत्व अहिले पाएको हो ।


प्रतिक्रिया