प्रधानमन्त्री वालेनले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री वालेनले बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाइएको हो । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशन अनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्र अनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत संवैधानिक पदहरू रिक्त छन् । संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ । राष्ट्रपतिबाट रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् अध्यक्षका हैसियतमा प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया