
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनको खिलाफमा कांग्रेसमा स्पष्ट देखिएका २ गुटसँग संवाद अघि बढाएका छन् । गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनदेखिको विवाद हालसम्म साम्य भइसकेको छैन । पार्टीको आधिकारिकता थापाले पाइसकेपछि पनि शेरबहादुर देउवा–पूर्णबहादुर खड्का समूह र शेखर कोइराला समूहले गगनको नेतृत्व स्वीकार गरिसकेका छैनन् । अझै पनि छुट्टाछुट्टै गुटभेला गरेर रणनीति बनाइरहेका छन् । अगामी १६–१९ असोजमा पार्टीको १५औँ महाधिवेशन तोकेर १ वैशाखदेखि सदस्यता वितरण तथा अद्यावधिकका लागि जरा अभियानसमेत सुरु भइसकेको छ । तर, यस अभियानमा देउवा–खड्का समूह र शेखर समूहको सक्रिय सहभागिता देखिएको छैन ।
दुवै समूहले विभिन्न माग तेस्र्याउँदै पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति थापाको भएको भनेर अड्डी कसिरहँदा उनले सम्वादको ढोका खुला गरेका हुन् । दुवै समूहसँग भेटेर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने तयारीमा रहेका उनले नेता शेखर कोइरालासँग मंगलबार भेट गरेका छन् । उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटेर सम्वाद गर्ने तयारी गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले पार्टीको समस्या समाधानका लागि सबै पक्षसँग सम्वाद तथा छलफल गर्न सभापति थापालाई अख्तियारी समेत दिएको थियो ।
सभापति थापाले पार्टीले आधिकारिकता पाएपछि पहिलोपटक मंगलबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेर उनीसँग भेटवार्ता गरेका थिए । विशेष महाधिवेशनपछि देउवा–खड्का समूहसँग निकट रहेका कोइराला गत ४ वैशाखमा सर्वोच्च अदालतले थापालाई कांग्रेसको आधिकारिकता दिएसँगै सो समूहसँगको निकटता पनि तोडेका थिए । उनले छुट्टै समूह चलाउँदै आएका छन् । गत १५–१६ वैशाखमा देउवा–खड्का समूहको भेलामा नगइ कोइरालाले १७ वैशाखमा आफ्नो समूहको छुट्टै भेलासमेत राखेका थिए । यसरी संस्थापन र इतर पक्ष दुवैसँग सीमासहितको सम्बन्ध राखिरहेका कोइरालालाई पार्टी राजनीतिको मुलधारमा फर्काउन गगन सक्रिय भएका हुन् । मंगलबार बिहान ९ बजे कोइरालाको कार्यालय पुगेका उनले करिब १ घण्टा कोइरालासँग छलफल गरेका हुन् । ‘पार्टीमा पछिल्लो समयमा देखा परेका समस्या समाधानका लागि २ नेताबीचमा छलफल भएको हो’, कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘समसामयिक राष्ट्रिय राजनीतिको विषयमा पनि कुराकानी भएको छ ।’
लामो अन्तरालमा उनीहरूबी भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिए पनि ठोस निष्कर्ष अथवा सहमति केही भएको विषय बाहिरिएको छैन । सभापति थापानिकट स्रोतका अनुसार थापाले आधिकारिकताको कानुनी लडाइँ, दलको नेता चयनको राजनीतिक लडाइ सबै सकिइसकेको र व्यवस्थापन भइसकेको भन्दै कोइरालालाई पार्टीको मूल स्प्रिटमा काम गर्न आग्रह गरेका छन् । उनले वर्तमान केन्द्रीय कार्यसमितिलाई मानेर जाँदा निर्णय प्रक्रिया र अन्य सबै विषयमा सबै पक्षसँग सरसल्लाह र राय लिएर नै पार्टी चलाउने प्रतिबद्धता गरेका छन् । थापाले पार्टी समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्न कोइरालालाई आग्रह गरेका बुझिएको छ ।
कोइरालाले देउवा–खड्का समूह र आफुसहितलाई समेटेर पार्टी गतिविधि र राजनीति अगाडि बढाउन थापालाई सल्लाह दिएका छन् । जुन कुरा उनले यसअघि नेताहरूसँगको सम्वादमा पनि बारम्बार उठाउँदै आएका थिए ।
यसैबीच, सभापति थापा पुग्नुअघि बिहान ८ बजे नेता पूर्णबहादुर खड्का पनि शेखर कोइरालालाई भेट्न उनको कार्यालयमा पुगेका थिए । खड्का–कोइरालाका बीचमा आधा घण्टा छलफल भएको कोइरालाको सचिवालयले जानकारी दिएको छ । कोइरालाले पार्टीमा थापाले आधिकारिकता लिइसकेपछि सोही पार्टीलाई मानेर जानुपर्ने तर्क राख्दै आएका छन् । तर, थापाको कार्यशैलीमा कोइरालाले प्रश्न उठाएका छन् । खड्काले कोइरालालाई संस्थापन पक्षको विपक्षमा एकतावद्ध भएर जान प्रस्ताव गर्दै आएका छन् । यिनै विषयको सेरोफेरोमा कुराकानी भएको खड्का निकट नेताहरूको दाबी छ ।
सभापति थापाले नेता खड्कासँग पनि भेट्ने तयारी गरेका छन् । मंगलबार नै खड्कासँग भेट्ने तयारीमा रहेका उनी दिउँसो संसद् समन्वय बोर्डको बैठकमा सहभागी भएका थिए । मंगलबार साँझसम्म थापा–खड्का भेट हुन नसकेको बुझिएको छ ।
०००
संसद्मा सरकारी कदमको सशक्त प्रतिवाद गर्न सभापतिको निर्देशन
मंगलबार कांग्रेस संसद् समन्वय बोर्डको बैठक बसेको छ । सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा सभापति थापाले ब्रिफिङ गर्दै संसद् र पार्टीका बीचमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । प्रतिनिधिसभा संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बैठकमा संसद र पार्टीका बीचमा सहकार्य गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिइन् ।
बैठक स्रोतका अनुसार सभापति थापा सरकारप्रति आक्रामक सुनिए । उनले सरकारले राष्ट्रपति संस्थाको सामान्य गरिमालाई समेत नमानेर दबाबपूर्ण रूपमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइएको भन्दै त्यसको विरोध जनाए । सत्तारुढ दल रास्वपाको संसदमा बहुमत भएपनि सो कुरालाई इन्कार गरेर संसद्बाट नचली अध्यादेशबाट चलाउन खोजिएको भन्दै उनले सो कुराको कांग्रेस सांसदहरूलाई संसद्बाटै प्रतिवाद गर्न निर्देशन दिएका थिए । ‘सरकारले जनप्रतिनिधिको थलो संसद्को उपहास ग¥यो । लोकतन्त्रको उपहास ग¥यो । यसको सशक्त प्रतिवाद संसदबाटै गर्नुस्’, उनको निर्देशन उदृत गर्दै एक पदाधिकारीले जानकारी दिए ।
त्यसैगरी सुकुम्बासीप्रति सामान्य मानवीयतासमेत नराखी क्रुरतापूर्वक हटाइएकोप्रति पनि उनले कन्सर्न राख्दै सुकुम्बासीहरुको पक्षमा आवाज उठाउन भनेका थिए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सांसदहरूको भूमिकाको सन्दर्भमा कुरा राखेका थिए भने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा प्रस्तुत हुने सन्दर्भमा दलको तर्फबाट भइरहेको तयारीको सन्दर्भमा धारणा राखेका थिए ।
खारेज भए कांग्रेसका ५ भ्रातृ संस्था
यता, कांग्रेसका ५ भातृ संस्था खारेज भएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ खारेज भएका हुन् । कांग्रेसले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनि समयसीमा दिएको थियो ।
पछि १६–२३ असार २०८२ सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो अवधिभित्र कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्नेगरी समयावधि थप गर्ने निर्णय गरेको थियो । सो समयसम्म पनि महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै तिनका केन्द्रीय समितिहरू स्वतः विघटन भएको कांग्रेसले जनाएको छ । कांग्रेसले पार्टी विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सवै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यबस्था गर्न सभापति गगन थापालाई जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया