मलामीमा नगर प्रमुख भामको घाँटीमा दमाह बाजा : सामाजिक समावेशिताको सन्देश

मुगु । छायाँनाथ रारा नगरपालिका–४ का ६५ वर्षीय साङ्या रोकायाको आफ्नै कालगतिले निधन भएपछि गरिएको अन्त्येष्टि कार्यक्रममा एक फरक र अर्थपूर्ण दृश्य देखिएको छ । मलामीमा सहभागी भएका नगर प्रमुख विष्णु कुमार भाम स्वयं बाजा बजाउँदै अघि बढेपछि यो विषय अहिले चर्चामा छ ।

सामान्यतया दलित समुदायसँग मात्र जोडिने र विशेषगरी उनीहरूले नै वहन गर्दै आएको बाजा बजाउने यो परम्परामा एक जनप्रतिनिधि स्वयं सहभागी हुनु धेरैका लागि नौलो र सन्देशमूलक बन्यो । स्थानीय परम्परा अनुसार अन्त्येष्टिमा बाजा बजाउने जिम्मेवारी प्रायः दलित समुदायले वहन गर्दै आएका छन् । तर, यो जिम्मेवारी केवल एक समुदायको मात्र नभएर हामी सबैको साझा हो भन्ने सन्देश दिन नगर प्रमुख भाम आफैँले बाजा बजाएको स्थानीयहरूले बताएका छन् ।

नगर प्रमुखको यस कदमले कार्यक्रममा उपस्थित विभिन्न जातजाति र समुदायबीच भावनात्मक एकता झल्काएको थियो । शोकको वातावरणमा सबैले मिलेर दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दा सामाजिक सद्भावको बलियो उदाहरण प्रस्तुत भएको थियो ।

त्यस अवसरमा नगर प्रमुख भामले दुःखद घडीमा सहकार्य, सहानुभूति र एकता आवश्यक हुने बताउँदै विभेदरहित समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने धारणा राखे । उनले भने, ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो, यस्तो समयमा हामी सबै एक भएर उभिनुपर्छ र विभेदका पर्खालहरू भत्काउनुपर्छ ।’

स्थानीय बासिन्दाहरूले नगर प्रमुखको यस्तो व्यवहारलाई समाजमा सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन् । उनीहरूका अनुसार यस्ता अभ्यासले समाजमा गहिरो गरी जरा गाडेको जातीय विभेद घटाउनुका साथै पारस्परिक सम्मान र सद्भाव बढाउन ठूलो सहयोग पुग्नेछ ।

छायाँनाथ–रारा नगरपालिकामा पछिल्लो समय सामाजिक समावेशिता प्रवद्र्धन गर्ने गतिविधिहरू बढ्दै गएका छन् । जनप्रतिनिधिहरू स्वयं यसरी सहभागी भएर उदाहरण प्रस्तुत गर्दा सामाजिक रूपान्तरणका सन्देशहरू अझ प्रभावकारी रूपमा समुदायमा फैलिने विश्वास गरिएको छ ।

प्रतिक्रिया