भिरालो बाटोमै सुत्केरी, समयमै उद्धारले आमा–शिशुको ज्यान बच्यो

सुत्केरीलाई उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै स्वास्थ्यकर्मी र प्रहरी ।

मुगु । दुर्गम क्षेत्रको जोखिमपूर्ण भौगोलिक अवस्थाबीच एक गर्भवती महिलाले भिरालो बाटोमै शिशु जन्म दिएकी छन् । मुगुम कार्मारोङ गाउँपालिका–८ मह गाउँकी ३० वर्षीया साङ्गमु लामा सोमबार साँझ सदरमुकाम गमगढीबाट घर फर्किने क्रममा च्याप्नेगाडको भिरालो बाटोमै सुत्केरी भएकी हुन् । साँझ करिब ७ः३० बजे एक्लै यात्रा गरिरहेकी साङ्गमु अचानक प्रसव पीडामा परिन् । वरिपरि अँध्यारो, तल कर्णाली नदीको गर्जन र माथि भिरको जोखिमबीच उनले त्यहीँ शिशुलाई जन्म दिइन् । नवजात शिशु रगत र माटोले लत्पतिएको अवस्थामा थियो । कठिन परिस्थितिका बाबजुद आमाले धैर्य र साहसका साथ स्थिति सामना गरिन् ।

साङ्गमुले मोबाइलमार्फत छायल बजारमा रहेकी आफ्नी साथीलाई खबर गरिन् । त्यसपछि छायल स्वास्थ्यचौकीकी अनमी विष्णु बुढा र प्रसूति केन्द्रकी तिला मल्ललाई जानकारी गराइयो । खबर पाउनासाथ प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि खटिएको थियो । उद्धार टोली समयमै घटनास्थलमा पुगेकोले ठुलो जोखिम टरेको स्थानीयले बताएका छन् । कठिन भौगोलिक अवस्थाबीच साङ्गमु र नवजात शिशुलाई सुरक्षित रूपमा छायल प्रसूति केन्द्र पुर्याइयो । तर शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरिएको थियो ।

अस्पताल करिब ४ घण्टाको दुरीमा रहेको र तत्काल यातायातको अभावले थप समस्या सिर्जना भएको थियो । यसबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलको पहलमा जिपको व्यवस्था गरियो । त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा आमा र शिशुलाई जिल्ला अस्पताल पुर्याइएको हो । हाल नवजात शिशुको आइसियूमा उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । साङ्गमुका पति पेमा राप्के लामाले घटना थाहा पाएपछि हतारिँदै अस्पताल पुगेको बताए ।

उद्धारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार घटनास्थलमा पुग्दा आमा अत्यधिक रक्तश्राव र थकानले कमजोर अवस्थामा थिइन् भने शिशु चिसोका कारण निलो भएको अवस्थामा थियो । यो घटना दुर्गम क्षेत्रका गर्भवती महिलाले भोग्नुपरेको जोखिम र स्वास्थ्य सेवाको अभावको उदाहरण बनेको सरोकारवालाहरूको भनाइ छ । साथै, समयमै गरिएको उद्धार र स्वास्थ्यकर्मी तथा प्रहरीको सक्रियताले आमा र शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

प्रतिक्रिया