गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै तत्काल उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै तत्काल उनीसँग जोडिएको सम्पत्तिको स्रोतसम्बन्धी उठेका आरोपहरुको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त सुरू गर्न सरकारसँग माग गरेको छ ।

सोमबार नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री गुरुङबारे आएका समाचारले गम्भीर प्रश्न उठाएको जनाएका छन् । कांग्रेसले भनेको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ ।’

कांग्रेसले गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेको छ। यस विषयमा ढिलासुस्ती गर्न नहुने कांग्रेसको भनाइ छ ।

‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ( गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ ।’

गृहमन्त्री गुरुङमाथि निष्पक्ष रुपमा अनुसन्धान गर्ने वातावरण बनाउन पनि कांग्रेसले आग्रह गरेको छ । यसका लागि गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ ।

‘सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ कांग्रेसले भनेको छ ।

प्रतिक्रिया