छोरीले ‘आमा’ भन्न नपाउँदै अस्ताइन् भावना

डाक्टरको लापरबाहीले ज्यान गएको भन्दै परिवारद्वारा छानबिनको माग

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका– ८ की २७ वर्षीया भावना विष्टले ४ दिनअघि कर्णाली प्रादेशिक अस्पतालमा छोरीलाई जन्म दिइन् । अस्पतालबाट नवजात शिशु बोकर घर फर्किने आसमा परिवारमा खुसियाली छायो । तर, त्यो खुसी लामो समय टिकेन । २ दिनपछि भावनाको स्वास्थ्य जटिल बन्दै गयो । अस्पतालले विभिन्न स्वास्थ्य समस्या देखाउँदै पुनः शल्यक्रिया गर्नुपर्ने जानकारी दिए । परिवारका सदस्य त्यसमा सहमत भए र दोस्रो पटक भावनाको शल्यक्रिया भयो । दोस्रो शल्यक्रियासँगै उनको स्वास्थ्य अवस्था झन्झन् जटिल बन्दै गयो ।

आइसियुमा राखेर उपचार भइरहँदा परिवारले उनलाई सुविधासम्म अस्पतालमा रिफर गरिदिन पनि आग्रह गरे । अस्पतालले सबै ठिक हुने भन्दै रिफर गरिदिएन । कर्णाली प्रादेशिक अस्पतालको उपचारमा विश्वस्त नभएपछि सुत्केरी भएको चौथो दिन ४ वैशाखमा परिवारले चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी काठमाडौँ पुर्याए । काठमाडौँ पुगेको केही समयमै भावना अस्ताइन् ।

छोरीले बोल्ने पहिलो शब्द ‘आमा’ नाता सधैँका लागि अन्त्य भयो । परिवारमा कहिल्यै नमेटिने पीडाको घाउ बनेर बस्यो । आमाको न्यानो काखमा सुत्नुपर्ने बेला नवजात शिशुको अस्पतालको कुनाबाट आउने चिच्याहटले परिवारको पीडालाई झन् गहिरो बनाइरहेको छ । सुत्केरी व्यथा लागेपछि भावनालाई ३० चैतको साँझ सुर्खेतको कर्णाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम् उपभोग गर्दै उपचारमा कुनै कसर बाँकी नराखेको अस्पताल प्रशासनले जनाएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै अस्पतालले भावनाको स्वास्थ्यमा सुधार नभएपछि ३ वैशाखमै परिवारको सल्लाहमा काठमाडौँ पठाउन अनुमति दिएको भए पनि चिकित्सकीय टोलीसहितको हेलिकोप्टर आउन नसकेका कारण ढिलाइ भएको जनाएको छ । भावनालाई अस्पताल पुर्याएपछि उनको स्वास्थ्य अवस्थालाई ध्यान दिएर चिकित्सकको सल्लाहमा आपत्कालीन शल्यक्रिया (सिजेरियन) गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रियाको २४ घन्टा नबित्दै उनको घाउबाट रगत बगेको, उच्च रक्तचापसँग सम्बन्धित गम्भीर अवस्था (प्रि–एक्लाम्सिया र एक्लाम्सिया) का कारण जटिलता बढेको, रक्तचाप नियन्त्रणमा समस्या, मिर्गौलाको कार्यक्षमता कमजोर हुनु, रगतमा अक्सिजनको मात्रा घट्नुजस्ता समस्या देखिँदै गएपछि उनलाई रिफर गरिएको थियो । ४ दिनसम्म प्रदेश अस्पतालमै उपचार गरिए पनि सुधार नभएपछि उनलाई ‘हाई लेभल क्रिटिकल केयर’ आवश्यक भन्दै काठमाडौँ रिफर गरियो । वैशाख ४ गते हेलिकोप्टरमार्फत उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पताल पुर्याइयो । तर, त्यहाँ पुगेको केही समयमै चिकित्सकले मृत घोषणा गरे ।

अस्पतालले समयमै सुविधासम्पन्न अस्पतालमा रिफर नगर्दा भावनाको ज्यान गएको परिवारको आरोप छ । अस्पतालकोे गम्भीर लापरबाहीले भावनाको अकालमा ज्यान गएको उनीहरूको आरोप छ । नातामा भावनाका दाजु पर्ने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले डाक्टरहरूको लापरबाहीले अकालमा बहिनीले ज्यान गुमाउनुपरेको बताए । ‘कर्णाली प्रदेश अस्पतालमा बिरामीको स्वास्थ्यमाथि खेलबाड भएका दर्जनौँ घटना सार्वजनिक भइसकेका छन्,’ उनले भने, ‘नितान्त बडेमानका डाक्टरको चरम लापरबाहीका कारण एकपछि अर्को घटना हुँदा पनि कोही किन बोल्दैनन् ? कर्णाली प्रदेशमा सरकार छ कि छैन ? प्रशासन छ कि छैन ? अस्पतालको लापरबाही र बेथितिबारे कोही किन बोल्दैन ?’

कर्णाली प्रदेश सरकार दर्जनौँ घटनाको मूकदर्शक भएर बसेको उनको आरोप छ । ‘कर्णाली सरकार कि अस्पताल माफियाको हुनुपर्छ,’ उनले भने, ‘कि प्रदेश अस्पतालका डाक्टर नामका सेतो कोटधारी मान्छे मार्ने लाइसेन्सवाला पार्टी कार्यकर्ता भर्ना गरेको हुनुपर्छ । यो सरकार जनताको होइन । जनताको सरकार भए त बोल्नुपर्ने हैन र ?’ भावनाका बाजे महेशकुमार बिष्टले प्रदेश अस्पतालमा डाक्टरको लापरबाहीले नातिनीले ज्यान गुमाउनुपरेको बताए । ‘प्रदेश अस्पताललाई प्रयोगशाला बनाइरहँदा किशोरकिशोरीले ज्यान गुमाउनुपरेको छ,’ उनले भने, ‘अप्रेसनको नाममा अन्धाधुन्द कैँची चलाएर डाक्टरको गम्भीर लापरबाही देखिएको छ ।’ स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मात्र अस्पतालले रिफर गरेको उनको आरोप छ । परिवारले शनिबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।

डाक्टरको लापरबाहीले भावनाको मृत्यु भएको भन्दै घटनाको स्वतन्त्र छानबिन गरिनुपर्ने, दोषी डाक्टर, कर्मचारीलाई कारबाही गरिनुपर्ने, बिरामीको उपचार प्रक्रिया, स्वास्थ्य परीक्षण रिपोर्ट र उपचारका लागि भएका चिकित्सकीय निर्णयबारे जानकारी दिनुपर्ने र मृतकका नाबालक छोराछोरीको सुरक्षित भविष्यको जिम्मा अस्पतालले लिनुपर्ने उनीहरूको माग छ । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट र कर्णाली प्रदेशसभा सदस्य हिक्मतबहादुर बिष्टसहितको टोलीले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । सरकाले घटनाको छानबिनका लागि आवश्यक प्रक्रिया अघि बढाउने वचन मन्त्री भण्डारीले दिएका छन् । शनिबार नै भेरी नदीमा भावनाको अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया