
मिथिलाञ्चलमा बढ्दो आधुनिकतासँगै यहाँका मौलिक परिकारहरू दिनप्रतिदिन लोपोन्मुख अवस्थामा पुग्दै गइरहेका छन् । परम्परागत रूपमा खेतीपातीको सहारामा जीवनयापन गर्दै आएका मिथिलावासी आधुनिक जीवनशैलीतर्फ आकर्षित हुँदै जाँदा ती मौलिक स्वादहरू ओझेलमा परेका छन् ।
पहिले–पहिले घरघरमै महिलाहरूले समयअनुसार र आवश्यकताअनुसार बनाउने परिकारहरू (जस्तै ः विरिया (अरिकंचन), तिलौरी, दनौरी, तिस्यौरी, अदौरी) आजभोलि दुर्लभ बन्दै गएका छन् । तरकारी अभाव हुने समयमा घरमै उपलब्ध सामग्री प्रयोग गरी बनाइने यस्ता परिकारहरूले केवल स्वाद मात्र होइन, स्वास्थ्य र आत्मनिर्भरताको सन्देश पनि बोकेको हुन्थ्यो ।

तर अहिलेको व्यस्तता, विशेषगरी मोबाइल र प्रविधिमा बढ्दो निर्भरता, कारण मानिसहरूले यस्ता परिकार बनाउन समय छुट्याउन छाडेका छन् । परिणामस्वरूप, परम्परागत सीप र स्वाद पुस्तान्तरण हुन नसक्दा यी परिकारहरू हराउने अवस्थामा पुगेका छन् । यद्यपि बजारमा यस्ता परिकारहरू पाइने अवस्था छ, तर मेसिनबाट बनाइएका ती उत्पादनहरूमा घरेलु स्वाद, माया र मौलिकताको कमी महसुस हुन्छ ।
दुर्लभ बन्दै गइरहेको मिथिलाका परिकारहरूमध्ये अदौरी एक महत्वपूर्ण परिकार हो, जसले वर्षायामका लागि संरक्षित सब्जीको रूपमा मात्र होइन, सामाजिक र सांस्कृतिक महत्व पनि बोकेको छ । यो परिकार मुख्यतः उरिदको दाल (मासको दाल) बाट तयार गरिन्छ । उरिदको दाल पिसेर बेसन बनाइन्छ र त्यसको पेस्ट सानो–सानो गोलो आकारमा बनाई घाममा सुकाएर अदौरी तयार गरिन्छ । यसरी सुकाएर राखिएको अदौरी आवश्यकताअनुसार बैगुन वा सजमैन (लौका) सँग मिसाएर पकाइन्छ, जसले विशेष स्वाद प्रदान गर्छ । मिथिलाको परम्परागत भोजमा बैगुन अदौरी वा सजमैन अदौरी अनिवार्य परिकारका रूपमा समावेश हुने गरेको पाइन्छ । नेपाल र भारतमा पाइने उरिदको दाल स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक मानिन्छ ।
आयुर्वेदअनुसार उरद मधुर, शीतल, भारी, टर्रो, बलवर्धक तथा पित्त र कफ नाश गर्ने गुणयुक्त हुन्छ । यद्यपि यसको अत्यधिक सेवन उपयुक्त मानिँदैन, विशेष गरी घाउ भएको अवस्थामा खाँदा संक्रमण बढ्न सक्ने विश्वास पनि रहेको छ ।
उरिदको बोट सिमी जस्तै हुन्छ, जसमा प्रत्येक सिन्कामा ३ वटा पात लाग्छन् । बैजनी रङको फूल फुल्ने र ३–४ औँलाको गुच्छामा फल लाग्ने यस बालीको फलियाभित्र ५–६ वटा लामो बिउ हुन्छन्, जसको मुखमा सेतो दाग देखिन्छ । उरिद कालो र हरियो २ प्रकारको हुन्छ । मिथिला क्षेत्रमा यसलाई भदौ–असोजमा रोपेर मंसिर–पुसमा भिœयाइन्छ । यसको खेतीका लागि बलौटे माटो र मध्यम वर्षा उपयुक्त मानिन्छ । मिथिलामा अदौरीबाहेक पनि उरिदको प्रयोगबाट विभिन्न परिकार बनाउने चलन छ । मुला र कुभिन्डोमा उरिदको बेसन मिसाएर मुरौरी र कुम्रौरी बनाइन्छ भने बथुवा सागमा उरिदको पिठो मिसाएर बिरिया तयार गरिन्छ । उरिदको पिठोको लसिलोपनाले सागपातलाई राम्रोसँग गुँथ्न मद्दत गर्छ, जसले परिकारलाई विशेष स्वाद र बनावट दिन्छ ।

बिरिया पनि मिथिलाको एक अनौठो र मौलिक परिकार हो । बथुवा सागका पातहरू हल्का सुकाएर उरिदको पिठोमा लेप गरी राखिन्छ र आवश्यक पर्दा मसलेदार आलु तथा तोरीको रसमा पकाएर सेवन गरिन्छ । यसले ग्रामीण जीवनशैली र परम्परागत ज्ञानको झल्को दिन्छ । अन्न, तरकारी र फलफूल सुकाएर दीर्घकालसम्म सुरक्षित राख्ने परम्परा विश्वका धेरै ठाउँमा पाइन्छ । तर मिथिलामा यसले विशेष सांस्कृतिक पहिचान बनाएको छ । वर्षायाममा तरकारीको अभाव हुँदा यिनै सुकाइएका परिकारहरूले दैनिक जीवन सहज बनाउने काम गर्थे । तर बदलिँदो समय, आधुनिक जीवनशैली र परम्परागत सीपको कमीका कारण यस्ता मौलिक परिकारहरू विस्तारै लोप हुँदै गएका छन्, जसको संरक्षण आजको प्रमुख आवश्यकता बनेको छ ।
प्राध्यापक डा.भोगेन्द्र झाका अनुसार पहिले घरपरिवारमा आमाहरूले अदौरी लगायतका परिकार बनाउने परम्परा बलियो थियो । आमाको हातले तयार पारिएको अदौरी र बरी सबैभन्दा स्वादिष्ट मानिन्थ्यो । उनीहरूले आफ्ना छोरी–बुहारीलाई अदौरी बनाउने सीप सिकाउँदै लैजाँदा यो परम्परा पुस्तान्तरण हुँदै गएको थियो । यसरी हेर्दा अदौरीजस्ता परिकारहरू केवल खानाका रूपमा मात्र सीमित नभई ग्रामीण अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा पनि बनेका थिए । डा.झाको भनाइमा, अहिले पनि सरकारले यस्ता परिकारलाई महिलाहरूका लागि स्थायी रोजगारीको माध्यम बनाउनसके उनीहरू आर्थिक रूपमा सशक्त बन्नुका साथै समाजमा सम्मानजनक स्थान हासिल गर्न सक्छन् । हाल बजारमा पाइने अदौरीको गुणस्तर कमजोर हुने गरेको र राम्रो अदौरीको माग उच्च रहेको उनी बताउँछन् ।
उनका अनुसार मैथिली भाषी जिल्लाहरूमा बथुवाको साग र त्यसबाट बनाइने बिरिया अत्यन्तै रुचाइने परिकार हो । मिथिला क्षेत्रको एक अनौठो परिकारका रूपमा चिनिने बिरिया बथुवाका पातहरू हल्का सुकाएर उरदको पिठोमा लेप गरी तयार गरिन्छ । पछि आवश्यक पर्दा यसलाई मसालेदार आलु र तोरीको रसमा पकाएर स्वादिष्ट रूपमा खाने गरिन्छ । सुकाएर दीर्घकालसम्म प्रयोग गर्न सकिने भएकाले यो परिकार पनि परम्परागत संरक्षण विधिको उत्कृष्ट उदाहरण हो ।
वरिष्ठ पत्रकार शैलेन्द्र झाका अनुसार मैथिली समुदायमा सागबिना कुनै पनि भोजन अधुरो मानिन्छ । यहाँका परिकारहरू सागमा अत्यधिक निर्भर छन् । बथुवा, रातो साग, पटुवा साग, गेन्हारी साग, कर्मी साग, सरसों (सर्रिसो) साग आदि । यसका साथै अरिकञ्चन, कदिमा (फर्सी) का पात वा फूलबाट बनाइने तरुवा जस्ता परिकारहरूले पनि मिथिलाको खानपान संस्कृतिलाई झल्काउँछन् ।

आधुनिकताको चपेटामा पर्दै लोपोन्मुख अवस्थामा पुगेका मिथिलाका यस्ता मौलिक परिकारहरूको संरक्षणका लागि पछिल्लो समय केही सकारात्मक पहलहरू सुरु भएका छन् । तिनै प्रयासहरूमध्ये ‘मिथिला थाली’ को अवधारणा उल्लेखनीय रूपमा अगाडि आएको छ ।
अमेरिकामा ख्याति कमाएका नेपाली सेफ सन्तोष साहले अहिले नेपालका प्रमुख सहरहरूमा थकाली थालीकै शैलीमा ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका छन् । उनले यस थालीमार्फत लोप हुन लागेका परम्परागत मिथिला परिकारहरूलाई पुनः प्रस्तुत गर्ने प्रयास गरेका छन् । मिथिला थालीमा अदौरी, बिरिया, तिलौरी, कुम्रौरी जस्ता घरघरमा बनाइने तर अहिले हराउँदै गएका परिकारहरू समावेश गरिएका छन् । घरमा बनाउने चलन घट्दै गएका यी परिकारहरू पुनः स्वाद लिन चाहने मानिसहरू मिथिला थालीतर्फ आकर्षित हुन थालेका छन् । यसले केवल व्यावसायिक सफलता मात्र होइन, परम्परागत खानाको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ । सेफ साहको यो पहलले मिथिला भोजनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरसमेत दिएको छ ।
साथै, उनले यस्ता परिकारहरू घरमै बनाउन पनि आग्रह गरेका छन् । स्थानीय महिलाहरूले घरमै बनाएर उपलब्ध गराएका परिकारहरू आफूले खरिद गर्ने प्रतिबद्धता जनाएपछि यसले ग्रामीण महिलाहरूका लागि आयआर्जनको नयाँ सम्भावना पनि सिर्जना गरेको छ । यस कदमले लोपोन्मुख अवस्थामा रहेका मिथिला परिकारहरू पुनः जीवित हुने आशा जगाएको छ । यसरी परम्परागत ज्ञान, स्वाद र संस्कृतिलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको सन्देश पनि यस पहलले दिएको छ ।

सेफ सन्तोष साहका परिकारहरू अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल भएका छन् । उनको पाककला र मिथिला भोजनको प्रवद्र्धनलाई प्रतिष्ठित ‘नेसनल जियोग्राफिक’ म्यागजिनले समेत समेटेको छ । उक्त म्यागजिनमा जनकपुरधामलाई धार्मिक, सांस्कृतिक तथा समृद्ध पाक–परम्पराले भरिपूर्ण सहरका रूपमा चित्रण गरिएको छ । जनकपुरधाम प्रवेश गर्नेबित्तिकै देखिने जानकी मन्दिरको भव्यता, त्यसमा झल्किने अद्भुत कला–कौशल र त्यहाँ पुग्ने तीर्थयात्रीहरूको चहलपहललाई ‘नेसनल जियोग्राफिक’ले विशेष रूपमा प्रशंसा गरेको उल्लेख छ । यसले जनकपुरधामको धार्मिक महत्वसँगै सांस्कृतिक र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्न मद्दत पुर्याएको छ । यसअघि ‘लोन्ली प्लानेट’ले पनि जनकपुरधामलाई सांस्कृतिक तथा खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यका रूपमा सूचीबद्ध गरेको थियो । यसले मिथिला क्षेत्रका मौलिक परिकार र परम्परागत जीवनशैलीलाई विश्वसामु चिनाउने महत्वपूर्ण आधार तयार गरेको छ ।

जनकपुर
प्रतिक्रिया