
मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–७ को कालैस्थित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिताकुमारी शाही दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि आशा र भरोसाको केन्द्र बनेकी छिन् । विकट भौगोलिक अवस्थाका कारण स्वास्थ्य सेवामा पहुँच कठिन रहेको सो क्षेत्रमा उनले गरेको निरन्तर सेवाले आमा र शिशुको ज्यान बचाउन महत्वपूर्ण योगदान पुर्याएको छ । मानवअधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक) र ब्याक टू लाइफको आर्थिक सहयोगमा निर्माण गरिएको जिमा–सिप बर्थिङ सेन्टरमा करिब ६ वर्ष सेवा गरेकी सरिता हाल कालै बर्थिङ सेन्टरमा कार्यरत छिन् । यस अवधिमा उनले सयौँ महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गर्दै मातृ शिशु मृत्युदर घटाउन उल्लेखनीय भूमिका खेलेकी छिन् ।
स्थानीय जनप्रतिनिधि र बासिन्दाका अनुसार सरिताको समर्पणले पहिले असुरक्षित रूपमा घरमै सुत्केरी हुने चलन घटेर अहिले अधिकांश गर्भवती महिला बर्थिङ सेन्टर आउने गरेका छन् । वडा सदस्य गोविन्दा विष्टले ‘यहाँकी भगवान’ भन्दै सरिताको प्रशंसा गरिन् । उनको रातदिनको सेवाले गाउँका महिलाको जीवन सुरक्षित भएको विष्टको भनाइ छ । सरोकारवालाका अनुसार कालै क्षेत्रमा स्वास्थ्य पूर्वाधार कमजोर रहे पनि सरिताले सीमित स्रोतसाधनका बीच निरन्तर सेवा दिँदै आएकी छिन् । उनले आपत्कालीन अवस्थामा रातदिन खटेर समेत प्रसूति सेवा उपलब्ध गराउने गरेकी छिन् ।
सरकारी तथा संस्थागत सहयोगमा सञ्चालन भइरहेको बर्थिङ सेन्टरमा कार्यरत रहँदा सरिताले हालसम्म जिमा–सिप केन्द्रमा मात्रै ४६९ जना महिलालाई सुरक्षित सुत्केरी गराइसकेकी छिन् । साथै करिब १ हजार २०० गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच र झन्डै ६०० सुत्केरीको ४ पटकसम्म फलोअप गरेको उनले बताइन् । सरिताले गाउँगाउँ पुगेर गर्भवती महिलालाई संस्थागत प्रसूति सेवाको महत्वबारे जनचेतना फैलाउने कार्य पनि गर्दै आएकी छिन् । घरमै सुत्केरी हुँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने भएकाले बर्थिङ सेन्टरमै सेवा लिन आवश्यक रहेको सन्देश फैलाउन उनले सक्रिय भूमिका खेलेकी छिन् । विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई समेत स्वास्थ्य शिक्षा र सचेतना प्रदान गरिएको छ ।
कालै क्षेत्रमा आएपछि उनले हालसम्म १० जना महिलालाई सुरक्षित प्रसूति गराइसकेकी छिन् । यस क्षेत्रमा कालै, खनाया र सिद्दीगाउँका गर्भवती महिलाहरू नियमित रूपमा बर्थिङ सेन्टर आउने गरेका छन् । स्थानीय डबल विष्टका अनुसार पहिले यहाँ ७५ प्रतिशतभन्दा बढी महिलाले घरमै असुरक्षित सुत्केरी हुने गर्थे । तर, बर्थिङ सेन्टर स्थापना र सरिताको सक्रियतापछि संस्थागत प्रसूति उल्लेखनीय रूपमा बढेको छ । ‘अब महिलालाई धेरै राहत भएको छ, आमा र शिशुको ज्यान बच्न थालेको छ,’ उनले भने । सरिता पनि दुर्गममा काम गर्नु चुनौतीपूर्ण भए पनि सेवाको सन्तुष्टि ठुलो रहेको बताउँछिन् । ‘टाढा–टाढा गाउँबाट राति पनि सुत्केरी हुन आउँछन्, उठेर सेवा दिनुपर्छ,’ उनले भनिन् । उनका अनुसार अहिले घरमै सुत्केरी हुने संख्या न्यून भएको छ ।
स्थानीयवासीले उनको सेवाभावप्रति उच्च सम्मान व्यक्त गर्दै उनलाई ‘देउतासरह’ मान्ने गरेका छन् । सुत्केरी महिलालाई यातायात खर्च ३ हजार, प्रोत्साहनबापत ८०० र प्रदेश कोसेलीबापत २ हजार ५०० रुपैयाँ उपलब्ध हुने व्यवस्था भएकाले पनि संस्थागत प्रसूति बढेको सरिताले बताइन् । वडाध्यक्ष जयपुर विष्टले दुर्गम क्षेत्रमा सरिताजस्ता समर्पित स्वास्थ्यकर्मीको सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई गाउँ–गाउँसम्म पुर्याउन सहयोग पुगेको बताए । उनले यस्ता स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन र सुविधा आवश्यक रहेको उल्लेख गरे ।
मुगु जिल्लाका ४ स्थानीय तहमा मानवअधिकार तथा वातावरण विकास केन्द्र र ब्याक टू लाइफको सहयोगमा १८ वटा सुविधायुक्त बर्थिङ सेन्टर सञ्चालनमा छन् । यी केन्द्रहरूले दुर्गमका दलित, विपन्न र पिछडिएका समुदायका महिलालाई सुरक्षित मातृत्व सेवामा सहज पहुँच दिलाएका छन् । सरकारले समेत हिमाली क्षेत्रमा जोखिममा परेका सुत्केरी महिलाको लागि हवाई उद्धारको व्यवस्था गरेको छ । तर, स्थानीय स्तरमा सरिताजस्ता स्वास्थ्यकर्मीको उपस्थितिले धेरै जीवनहरू समयमै सुरक्षित हुन सकेको स्थानीयहरूको भनाइ छ ।

मुगु
प्रतिक्रिया