
काठमाडौँ । अमेरिकाले पछिल्लो समय आप्रवासन नीतिमा कडाइ गर्दै नेपाली नागरिकहरूको डिपोर्ट बढाएको छ । यही क्रमअन्तर्गत, पछिल्लोपटक ३५ जना नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल फर्काइएको छ । उनीहरू गत २४ चैत (अप्रिल ७)मा चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरेका अनुसार डिपोर्ट गरिएका नेपालीमध्ये १२ जना अवैध बाटो प्रयोग गरेर अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए । बाँकी व्यक्तिहरूलाई भने विभिन्न आप्रवासन नियम उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको हो ।
पछिल्लो समय अमेरिका प्रवेश गर्ने क्रममा नेपालीहरू अवैध बाटो प्रयोग गर्ने प्रवृत्ति बढ्दो देखिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले बताए । यसले मानव तस्करीको जोखिमसमेत बढाएको उनको भनाइ छ । डिपोर्ट भएर फर्किएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धानसमेत अघि बढाइएको उनले जानकारी दिए । सन् २०२५ को जनवरीमा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरिरहेका छन् । विशेषगरी अमेरिकामा आप्रवासन नीतिमा कडाइ आएपछि यस्तो डिपोर्टको संख्या बढेको हो । अवैध रूपमा अमेरिका प्रवेश गर्ने, भिसा अवधि सकिएपछि पनि बसिरहने वा अन्य कानुनी उल्लंघन गर्नेहरूलाई लक्षित गर्दै कारबाही भइरहेको छ । कतिपयलाई त कथकडी लगाएर स्वदेश फर्काउने गरिएको छ ।
त्यसयता नेपालीहरू पनि पटक–पटक डिपोर्ट हुँदै आएका छन् । आधिकारिक विवरणहरू अनुसार, पछिल्लो समय डिपोर्टको संख्या तीव्र रूपमा बढेको देखिन्छ । ट्रम्प कार्यकाल सुरु भएपछि ५०० भन्दा बढी नेपाली डिपोर्ट भएको पाइएको छ । सन् २०२५ को नोभेम्बरमा ३५ जना नेपाली डिपोर्ट भएका थिए । यस्तै, यसै वर्षको फेब्रुअरी २८ मा ९५ जना नेपाली एकैपटक काठमाडौँ ल्याइए । समग्र रूपमा (१ वर्षको अवधिमा) करिब ५८५ नेपाली डिपोर्ट भएको तथ्यांक सार्वजनिक भएको हो । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई)ले अवैध आप्रवासीहरूलाई पक्राउ गरी चार्टर विमानमार्फत स्वदेश फर्काउने प्रक्रिया तीव्र बनाएको छ । अमेरिकी अध्यागमन निकायको सूचीमा १ हजार ३६५ नेपालीको डिपोर्ट हुने सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।
अधिकांश नेपालीहरू मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गर्ने गरेको पाइएको छ । यस्तो प्रयासका क्रममा धेरैजसो पक्राउ परेर डिपोर्ट हुने गरेका छन् । यसले मानव तस्करीको जोखिमसमेत बढाएको छ । सम्बन्धित निकायहरूले डिपोर्ट भएर फर्किएका व्यक्तिहरूमाथि अनुसन्धान गर्दै मानव बेचबिखन सञ्जालबारे जानकारी संकलन गरिरहेका छन् । अमेरिकाबाट नेपालीहरूको बढ्दो डिपोर्ट गम्भीर चिन्ताको विषय बनेको छ । पछिल्लो तथ्यांकले देखाउँछ कि अवैध आप्रवासनको प्रयास अझै जारी छ र त्यसको परिणामस्वरूप ठुलो संख्यामा नेपालीहरू स्वदेश फर्काइएका छन् । सुरक्षित र वैधानिक माध्यमबाट मात्र विदेश जाने चेतना अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाहरूको सुझाव छ । अन्यथा, जोखिमपूर्ण यात्रा, आर्थिक क्षति र कानुनी समस्याहरू अझ बढ्न सक्ने देखिएको उनीहरूले चेतावनी दिएका छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख ठगी
वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर करिब ९२ लाख रुपैयाँ ठगी भएको छ । ९१ लाख ९० हजार रुपैयाँ ठगेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
सल्ल्यानको शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको उक्त कार्यालयका प्रवक्ता रामेश्वर कार्कीलजानकारी दिए । अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
प्रतिक्रिया