
सुर्खेत । गत फागुन २३ गते सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले प्रदर्शन गरे । इनिशाको शव बुझेनन् । प्रहरीले २ साता लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझायो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले दायर गरेको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले घटनामा संलग्न ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि घटनाको २७ दिनपछि इनिशाको अन्त्येष्टि गरियो ।
यस्तै, चैत पहिलो साता सुर्खेत गुर्भाकोटकी–१२ की माया कठायत २ नाबालक छोराछोरीसहित घरबाट हराइन् । माया हराएको भोलिपल्ट भेरी नदी किनारमा उनको मृत शरीर भेटियो । त्यसको १ दिनपछि उनकी ११ वर्षीया छोरी आशाको शव भेटियो । ५ वर्षका छोरा दीपक अझै भेटिएका छैनन् । पारिवारिक तनाव र पतिको यातना सहन नसकेर मायाले भेरी नदीमा हामफालेको भन्दै उनको माइती पक्षले ज्वाइँविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी दिएपछि प्रहरीले मायाका पतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
चैत १५ गते कालिकोटको नरहरिनाथ गाउँपालिका–३ की मनसरा अधिकारी बुढा आफ्नै घरमा मृत भेटिइन् । उनको शरीरमा देखिएका घाउ र शवको पोस्टमार्टमपछि प्रहरीले पति काशीराम बुढालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । काशीरामले बन्चरो प्रहार गरी मनसराको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । १ महिनामा यी ३ घटनाले कर्णाली प्रदेशमा महिला हिंसाको अवस्था डरलाग्दो रहेको चित्रण गरेका छन् ।
मानवअधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनले पनि कर्णालीमा मानवअधिकार उल्लंघनका घटना बढिरहेको देखाएको छ । पछिल्लो १ वर्षमा कर्णालीमा भएका ६९४ मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा महिला पीडित रहेको देखिएको छ । यी घटनामा ५३१ महिला र ७८ जना पुरुष पीडित भएका छन् । पछिल्ला ३ वर्षमा कर्णालीमा जबरजस्ती करणीका मात्रै ४९२ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म क्रमशः घटनाको संख्या बढेको देखिन्छ । २०८०/८१ मा २०९ र २०८१/०८२ मा १७४ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्म १०९ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले बताए ।
इन्सेकले सन् २०२५ मा कर्णालीमा बलात्कारका घटना पनि बढेको देखाएको छ । ५ वर्षको अवधिमा बलात्कारका घटना २७ बाट बढेर ६४ पुगेको छ । २०२१ मा २७ वटा, २०२२ मा ३९ वटा घटना भएका थिए भने २०२३ मा ५१ वटा, २०२४ मा ६० वटा र २०२५ मा वर्ष बढेर ६४ पुगेको छ । अधिकांश घटनामा पीडित बालिका तथा महिला धेरै छन् । अधिकांश घटना चिनेजानेका व्यक्ति, नजिकका आफन्त, छिमेकी वा समाजले विश्वास गरेका व्यक्तिहरूबाटै हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय घटना सार्वजनिक नहुने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान छ । कतिपय घटना मिलापत्रमै टुंग्याउदा पनि महिला हिंसाको वास्तविक तथ्यांक आउन नसकेको अधिकारकर्मीहरूको भनाइ छ ।
कर्णालीमा हुने मानवअधिकार उल्लंघनका घटनामा पुरुषभन्दा महिला बढी पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए । ‘कर्णालीको मानवअधिकारको अवस्थामा अघिल्लो वर्षभन्दा केही सुधार देखिए पनि महिलामाथि हुने हिंसाका घटनामा कमी देखिँदैन,’ उनले भने, ‘कारागारमा मृत्यु, परिवारजनबाट भएका हत्या र धम्कीका घटना गत वर्षभन्दा पनि बढिरहेका छन् ।’
प्रतिक्रिया