प्रहरी प्रतिवेदनमा देखिएको तथ्यका आधारमा पनि घटनास्थलमा भएकाहरूले बचाउन प्रयास गरेको देखिएन । तसर्थ चारै जनालाई समान अभियोग लिएर अदालत गएका हौँ । – कर्णबहादुर महत, जिल्ला न्यायाधिवक्ता

सुर्खेत । सुर्खेतकी इनिशा विक हत्या अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले अदालतमा अभियोगपत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार अभियुक्त चारै जनालाई सामूहिक बलात्कार अभियोगमा १० देखि १२ वर्ष कैदसहित ५ लाख रुपैयाँ जरिमाना र कर्तव्य ज्यान मुद्दामा आजीवन जन्मकैद माग दाबी गर्दै ४१ पृष्ठ लामो अभियोगपत्र सुर्खेत जिल्ला अदालतमा पेस गरेको हो । अभियुक्त चारै जना नाबालक भएकाले कुल सजायको दुईतिहाइ कैद दाबीसहित अभियोगपत्र दायर गरिएको जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बताए ।
प्रहरीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । न्यायाधिवक्ता महतले मुख्य अभियुक्तले बलात्कार गरेको र अन्य ३ जनाले मृतकलाई अस्पताल पु¥याउने पर्याप्त समय भए पनि अस्पताल लैजाने प्रयाससमेत नगर्नुले उनीहरूको मनसाय पनि त्यही देखिएकाले चारै जनाविरुद्ध अभियोगपत्र पेस गरिएको बताए । चैत ११ गते प्रहरीले अध्ययन प्रतिवेदन बुझाए पनि बीचमा सार्वजनिक बिदा परेकाले आइतबारमात्र अदालतमा मुद्दा दायर गरिएको महतले जानकारी दिए ।
प्रहरीले अनुसन्धान क्रममा सामूहिक बलात्कार नभएको निष्कर्ष निकाले पनि सरकारी वकिलको कार्यालयले चारै जनालाई समान अभियोग लिएर अदालत पुगेको उनले बताए । ‘किटानी परेका चारै जना १६ देखि १८ वर्षका छन्,’ उनले भने, ‘प्रहरी प्रतिवेदनमा देखिएको तथ्यका आधारमा पनि घटनास्थलमा भएकाहरूले बचाउन प्रयास गरेको देखिएन ।’
प्रहरीले अनुसन्धान क्रममा इनिशा घटनामा सामूहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जबरजस्ती करणीसहित कर्तव्य ज्यान र अन्य ३ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिमाना मागदाबीसहित अभियोगपत्र दायर गरेको हो । उक्त अभियोगअनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जबरजस्ती करणीमा १० देखि १२ वर्ष कैद सजाय र कसुर प्रमाणित भएमा पीडितलाई क्षतिपूर्ती दिने गरी ५ लाख रुपैयाँ जरिमाना र कर्तव्य ज्यानअन्तर्गत आजीवन काराबासको मागदाबी गरिएको छ । अभियुक्तहरूको आइतबारदेखि नै बयान लिन सुरु गरिए पनि सोमबार मात्रै थुनछेक बहस हुने सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।
सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदनअनुसार अदालतमा अभियोगपत्र दायर गर्दै गर्दा इनिशाका आफन्त र अधिकारकर्मीहरूले दिनभर अदालतअगाडि धर्ना र नाराजुलुस गरेका थिए । अनुसन्धानप्रति अविश्वास जनाउँदै आएका पीडित परिवार र अधिकारकर्मीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २४ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमै छ । इनिशाका आफन्तहरूले पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै पुनः अनुसन्धानको माग गरिरहेका छन् । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले इनिशाको हत्यामा संलग्लाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।
प्रतिक्रिया