मुगुमा खसीको नाममा बाख्रीको मासु बिक्री गर्ने तीन जनालाई जनही २० हजार जरिवाना

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन जना व्यापारीलाई जनही रु २० हजारका दरले जरिवाना गरिएको छ । उपभोक्तालाई झुक्याएर गलत सूचना दिई मासु बिक्री गरेको पुष्टि भएपछि उक्त कारबाही गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख रबिराज थपलियाका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरी उनीहरूलाई छाडिएको हो । उनका अनुसार उपभोक्ताको स्वास्थ्य र आर्थिक हितविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न कडाइका साथ अनुगमनलाई निरन्तरता दिइने छ ।

स्थानीय उपभोक्ताबाट खसीको नाममा बाख्रीको मासु बिक्री भइरहेको भन्ने गुनासो आएपछि प्रहरीले केही दिनदेखि गोप्य रूपमा निगरानी तथा अनुसन्धान अघि बढाएको थियो । सोही आधारमा प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढी बजारका विभिन्न मासु पसलमा छापा मारेको थियो ।

अनुगमनका क्रममा रावत मासु पसल (तिलक ब. रावत), बोहोरा मासु पसल (चक्र बोहोरा) र आफन्त होटल (रिसिम बुढा) बाट एक–एक वटा गरी जम्मा तीन वटा बाख्री काटेर खसीको मासु भन्दै बिक्री गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त मासु तयारी अवस्थामा राखेर ग्राहकलाई खसीको भन्दै बिक्री गरिँदै आएको पनि पाइएको थियो ।

प्रहरीका अनुसार गमगढी बजारमा खसीको मासु प्रतिकिलो करिब रु १ हजारमा बिक्री हुँदै आएको छ । यही मूल्यको फाइदा उठाउँदै केही व्यापारीले सस्तो पर्ने बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गरेर उपभोक्तालाई ठगी गरिरहेको पाइएको हो ।

नियन्त्रणमा लिइएका बाख्री तथा मासुको पशु चिकित्सकमार्फत परीक्षण गरिएपछि खसी नभई बाख्रीको मासु भएको पुष्टि भएको थियो । त्यसपछि सम्बन्धित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

साथै, यस्ता ठगीपूर्ण तथा उपभोक्ता अधिकार विपरीतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अझ प्रभावकारी र कडाइका साथ सञ्चालन गरिने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया