मुगुमा खसीको भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन जना व्यापारी पक्राउ

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा तीन जना व्यापारी पक्राउ परेका छन् । उपभोक्तालाई झुक्याएर महँगो मूल्य असुल्ने उद्देश्यले यस्तो गतिविधि भइरहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार गमगढी बजारमा खसीको मासु प्रतिकिलो करिब १ हजार रुपैयाँमा पहिलेदेखि नै बिक्री हुँदै आएको छ । यही मूल्यको फाइदा उठाउँदै केही व्यापारीहरूले बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गरिरहेको सूचना पाएपछि बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा रावत मासु पसल (तिलक ब. रावत), बोहोरा मासु पसल (चक्र बोहोरा) र आफन्त होटल (रिसिम बुढा) बाट एक–एक वटा गरी जम्मा तीन वटा बाख्री काटेर ‘खसीको मासु हो’ भनी बिक्री गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रमुख थपलियाले भने, ‘उपभोक्तालाई झुक्याएर बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गर्नु गम्भीर ठगी हो, यस्तो कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।’ प्रहरीका अनुसार यस्तो कार्य झुक्याई बिक्री वितरणअन्तर्गत पर्ने अपराध हो ।

प्रचलित कानुन अनुसार कमसल माललाई असल माल हो भनी वा एक वस्तुलाई अर्को वस्तु हो भन्ने भान पारेर, वा कुनै वस्तुमा मिसावट गरी त्यसबारे जानकारी नदिई बिक्री वितरण गरेमा दोषीलाई ९ महिनासम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । साथै, यस्ता ठगीपूर्ण गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अझ कडाइ गरिने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया