
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्ने भएको छ । घटना अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विज्ञ टोली वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धानको काम सकेको र घटनामा प्राप्त प्रमाणको वैज्ञानिक र प्राविधिक विश्लेषणका लागि सिआइबीको सहयोग लिनुपरेको शाहीले बताए । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानका अन्य प्रमाणहरू प्राप्त भइसकेकाले अनुसन्धानको अन्तिम निष्कर्षमा पुग्न सिआइबीको सहयोग लिनुपरेको उनले बताए ।
‘धेरै प्रमाणहरूको परीक्षण भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आयो, मोबाइल फोनहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ ।’ प्रयोगशालाका रिपोर्टहरू आएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनले बताए । उपरीक्षक शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विज्ञ टोली गठनसँगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने टोली पनि पुगेको छ । पोलिग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने उनले जानकारी दिए । मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरू प्रयोगशालामा पठाइएको शाहीले बताए ।
शव नुबझ्ने आफन्तको अडान
इनिशाको शव आफन्तले बुझ्न नमान्दा १ सातादेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा छ । सुर्खेतको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले हत्यामा संलग्लाई कारबाही हुने विश्वस्त वातावरण नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । रोजगारीका लागि दुबईमा रहेका इनिशाका बुबा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै बिहीबार सुर्खेत आइपुगेका छन् । वीरेन्द्रनगरमा रहेकी उनकी आमा छोरीको हत्या भएकै दिनदेखि विक्षिप्त छिन् । सुर्खेत पुगेका बुबा इन्द्रबहादुरले छोरीले न्याय नपाएसम्म शव नबुझ्ने बताए ।
‘योजनाबद्ध रूपमा छोरीको हत्या गरिएको छ,’ उनले भने, ‘पार्कबाट जंगलतिर लगेर हत्या गरिएको हो ।’ विद्यालयले लापरबाही गरेर छोरीको अकालमा ज्यान गएको इन्द्रबहादुरको दुखेसो छ । ‘छोरीले कि डाक्टर बन्छु नभए सेनाको अधिकृत बन्छु भनेर भविष्यको सपना सुनाउँथिन् । छोरीको सपना हत्याराले पूरा हुन दिएन’ भन्दै इन्द्रबहादुर भक्कानिए । विद्यालयले हत्यामा संलग्न भनिएका युवक र छोरीको सम्बन्धबारे आफूहरूलाई जानकारी नगराएको उनले बताए । इनिशा हत्यमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सिआइबीको टोली वीरेन्द्रनगर आएर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाउने तयारीमा छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।
पोस्टमार्टम रिपोर्टमा बलात्कार भएको पुष्टि
सामुदायिक जंगलमा मृत भेटिएकी सुर्खेत गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । पोस्टमार्टम रिपोर्ट र पीडकको बयानपछि बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष छ । जबरजस्ती करणीले मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले बताए ।
हत्यामा संलग्न भएको आशंकामा फागुन २३ र २४ गते प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । इनिशाको पोस्टमार्टम रिपोर्टमा गोप्य अंगमा घाउ भएको, उच्च रक्तस्राव भएको देखिएकाले बलात्कारपछि उनको मत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।
‘पक्राउ परेकाहरूको बयान भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टअनुसार पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि उनको मृत्यु भएको हुन सक्छ ।’ मृतक इनिशा र पक्राउ परेका ४ जनामध्ये १ जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश अस्पताल, कालागाउँका ३ जना चिकित्सकसहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको हो ।
सहमतिमै सम्बन्ध भएको अभियुक्तको बयान
प्रहरी नियन्त्रणमा रहेका इनिशाका प्रेमी भनिएका युवकले सहमतिमै यौनसम्पर्क भएको र एक्कासि इनिशा बेहोस भएको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् । आफू विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र घटनाको दिन पनि सहमतिमै यौनसम्पर्क भएको बयान दिएको प्रहरी अधिकृतले बताए । ‘हामी २ बर्षदेखि शारीरिक सम्पर्क राख्दै आएका थियौँ,’ उनको बयान उद्धृत गर्दै प्रहरी अधिकृतले भने, ‘दुवैको सहमतिमा शारीरिक सम्पर्क ग¥यौँ । सम्पर्कपछि यौनांगबाट रगत आएपछि इनिशा बेहोस् भएर ढलिन् ।’ त्यसपछि सहयोगका लागि ३ जना साथीलाई बोलाएको उनले बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय १ किशोरसहित ४ जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु भएको बताए । फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।
न्यायका लागि देशभर दबाब
इनिशामाथि बलात्कारपछि हत्या गरिएकाले दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै देशभर अधिकारकर्मीले दबाब सिर्जना गरिरहेका छन् । इनिशाको न्यायका लागि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । वीरेन्द्रनगरमा बुधबार पीडित परिवार, आफन्त र विभिन्न अधिकारकर्मीहरूले प्रदर्शन गरे । सामाजिक सञ्जालमा विभिन्न दलका नेताहरू, मानवअधिकारकर्मीदेखि सेलिबे्रटीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया