
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलले इरानमा गरेको हवाई आक्रमणमा अमेरिका पनि सामेल भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा राखेको आठ मिनेट लामो भिडियोमार्फत त्यसो भनेका हुन् ।
अमेरिकाले महत्त्वपूर्ण युद्ध कारबाही थालेको उनले बताएका छन् । उनले भनेका छन्, ‘अमेरिकाले बारम्बार सहमति गर्न खोजेको थियो, हामीले निकै प्रयास गर्यौँ ।’
उनले थप भने, ‘हामी उनीहरूको क्षेप्यास्त्र नष्ट पारिदिन्छौँ र उनीहरूको क्षेप्यास्त्र उद्योग ध्वस्त पारिदिन्छौँ, त्यो पूरै नष्ट हुने छ ।’ यसअघि इजरायली तथा अमेरिकी सञ्चारमाध्यमहरूले इजरायलले अमेरिकासँग समन्वय गरेर इरानमाथि हमला गरेको जनाएका थिए ।
सीएनएनले अमेरिकासँगको समन्वयमा इजरेलले हमला गरेको उल्लेख गरेको थियो। इजरेलको वाइनेट न्यूजले पनि त्यसै भनेको थियो । फार्स समाचार एजेन्सीले इस्फाहान, कोम, कराज र केर्मानशाह सहरहरूमा विस्फोटनका आवाज सुनिएको जनाएको छ ।
राजधानी तेहरानको युनिभर्सिटी स्ट्रीट तथा रिपब्लिक इलाकाहरुमा कैयौँ क्षेप्यास्त्रहरू प्रहार भएको सो समाचार संस्थाले जनाएको छ ।
इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार पनि तेहरानका दुईवटा ठाउँमा विस्फोटन भएको सुनिएको छ । सहरको मध्ये भागमा आकासमा धूवाँको मुस्लो देखिएको उसले जनाएको छ ।
इरानको पनि प्रत्याक्रमण
इजरायलको सेना इजरायल डिफेन्स फोर्स (आईडिएफ) ले इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै आईडिएफले भनेको छ, ‘इरानले इजरायललाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको पहिचान हुनासाथ देशभरि विभिन्न क्षेत्रहरूमा साइरन बजाइएको छ ।’
इजरायली हवाई सेनाले ती इरानी क्षेप्यास्त्र रोक्न तथा अन्य खतरामा प्रहार गर्न काम थालेको उसले बताएको छ ।
दुवै देशको हवाई सेवा बन्द
इजरायलले इरानको हवाई सेवा नागरिक उडानहरूका लागि बन्द गरिदिएको छ । शनिबार बिहान इरानमा हवाई आक्रमण गरेपछि हवाई क्षेत्र बन्द गरिएको इजरायली सञ्चार माध्यमहरूले बताएका छन् ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग जोडिएको तस्नीम न्यूज एजेन्सीले इरानको हवाई क्षेत्र पनि निषेधित गरिएको उल्लेख गरेको छ ।– बीबीसी

प्रतिक्रिया