
काभ्रेपलाञ्चोक । यही २१ फागुनमा प्रतिनिधिसभा चुनाव हुँदै छ । देशभर चुनावी सरगर्मी बढ्दो छ, झन्डा–ब्यानर र विकास र समृद्धिका नाराले गाउँदेखि सहरसम्मको माहोल उत्सवमय बनेको छ । डाँडाडाँडाबाट माइकबाट भोट मागेको अपिलसहित गीतसंगीत गुञ्जायमान छ । सामान्य बुझाइमा चुनावमा मतदान गर्नु नागरिकको सार्वभौम र संवैधानिक अधिकारको प्रयोग गर्नु हो । तर, यो सबै नागरिकमा लागू हुँदैन ।
त्यस्तै, फरक उद्देश्य र सपना बोकेर हरेक चुनावमा काभ्रेको डाँडापारीबासी मतदानमा सहभागी हुँदै आएका छन् । उनीहरूका लागि चुनाव आफ्ना आधारभूत आवश्यकता पूर्ति, कष्टकर दैनिकी फेरिने आस र जन्मे–हुर्केको ठाउँ छाड्नु नपरोस् भन्ने कामनाको महामेला हो । हरेक चुनावमा यहाँका मतदाताले यिनै स–साना सपना पूरा गरिदिने भरोसा र विश्वास उम्मेदवारमाथि सुम्पिँदै आएका छन् ।
‘डाँडापारि’ अर्थात् काभ्रेपलाञ्चोक जिल्लाका खानीखोला र महाभारत गाउँपालिका । काभ्रे सदरमुकाम धुलिखेल मात्र होइन, संघीय राजधानी काठमाडौँ खाल्डोबाट पनि भौगोलिक हिसाबले त्यति धेरै टाढा छैनन् यी स्थानीय तह । तर, झलमल्ल सहरको नजिकै रहेका यी स्थानले ‘बत्तीमुनिको अँध्यारो’को उपमा पाएका छन् । काभ्रे–१ अन्तर्गत पर्ने यी २ पालिकाका अधिकांश गाउँमा चुनाव त जहिल्यै उत्साह बोकेर आउँछ, तर चुनाव सकिनासाथ त्यो उत्साह एकाएक निराशामा फेरिने पटक–पटकको नियति नै बनेको छ ।
चुनावी उल्लासभन्दा पीडाको इतिहास लामो छ— यी ठाउँका नागरिकको । यहाँका मतदाताले भोट हाल्दा आश्वासन सुन्छन्, ताली बजाउँछन्, नाच्छन्–गाउँछन् । दल र उम्मेदवारकै लागि आपसी झगडा गर्नसमेत पछि पर्दैनन् । तर, बर्खा लाग्दा उनीहरू आफ्नो भाग्यप्रति धिक्कार्दै आफूले जिताएर पठाएका नेताहरूको सत्तोसराप गर्दै सास्ती खेप्न बाध्य हुन्छन् ।
काभ्रे–१ मा यस पटक अमित लामा (एमाले), गुणराज मोक्तान (कांग्रेस), दीनानाथ गौतम (नेकपा), मधु चौलागाईं (रास्वपा) नवराज सत्याल (राप्रपा), मानबहादुर तामाङ (जसपा, राजु तामाङ (नेमकिपा), ज्ञानेन्द्रबहादुर श्रेष्ठ(प्रलोपा) उम्मेदवार छन् ।
यस्तै, कमलबहादुर लामा तामाङ (मंगोल नेसनल अर्गनाइजेसन), रत्न लामा (संयुक्त नागरिक पार्टी) भरत तामाङ (नेसनल रिपब्लिक नेपाल), धिरज लामा (श्रम संस्कृति), कान्छा तामाङ (नेकपा माओवादी), योगेन्द्र लामा (उज्यालो नेपाल), विनोद लामा (समावेशी समाजवादी पार्टी) सँगै जीवन लामा, युवराज चौलागाईं र राजेशकुमार श्रेष्ठको स्वतन्त्र उम्मेदवारी गरी १८ जना चुनावी मैदानमा छन् ।
खानीखोला गाउँपालिकाका फलामेटार, साल्धारा, डाँडागाउँ र महाभारतका बनखु, घर्तीछाप, सोक्तेल यस्ता विकट गाउँ हुन्, जहाँका बासिन्दा अन्यत्र सामान्य मानिने सुविधा भोग्न पाए पनि आफ्नो अहोभाग्य ठान्थे । यी बस्तीमा कोही उम्मेदवार घरदैलोमा छन्, कोही घरदैलो गरेर फर्किसके । कतिले अझै मतदाता रिझाउन अनेकौँ सपना बाँड्दै छन् । तर, यस पटक आफ्नो र गाउँको सपना पूरा गर्न मत फेर्ने निधो गरेका खानीखोला–५ का स्थानीय हेमलाल बजगाईं भन्छन्, ‘हरेक पटक नागरिक हारेर नेताले जित्दै आए । सायद यस पटक पनि त्यस्तै होला । तर, हामी मत फेर्ने मुडमा छौँ । हामी सबैको प्रश्न छ— जितेर गएपछि हामीलाई सम्झिएर आउनुहुन्छ ? हाम्रो पीडाको सारथि बन्नुहुन्छ ? चुनाव जित्नकै लागि उम्मेदवारहरूले मतदातालाई सपना देखाएर भ्रमको खेती गर्ने गरेको उनको गुनासो छ । ‘विगतमा चुनाव जितेका उम्मेदवारले सुरुङमार्ग बनाउनेदेखि हाम्रो दैनिकी नै परिवर्तन गरिदिने जस्ता ठुला कुरा गरेका थिए । आज पनि केही उम्मेदवार त्यही भेषमा गाउँ आएका छन्,’ उनी रिस र आवेगको भाषामा भन्छन् ।
०००

हरेक बर्खाको ४ महिना ‘नाकाबन्दी’ भोग्छन् स्थानीय
डाँडापारिका बस्तीका लागि बर्खा प्रकृतिको वरदान होइन, अभिशाप बनेर आउँछ । बर्खाले ‘नाकाबन्दी’झैँ कठोर र पीडादायी भोगाइ दिन्छ— यहाँका नागरिकलाई । बाह्रै महिना चल्ने मोटरबाटो अभावमा असारदेखि असोजसम्मका ४ महिना यी बस्तीमा यातायात ठप्प हुन्छ । सानो पानी पर्नासाथ कच्ची सडक कतै पहिरोले लडाउँछ, कतै हिलो र चिप्लोले गाडी कुदाउनै नसक्ने बन्छन् । पैदलै हिँड्ने कतिपय भिरबाट लडेर ज्यान गुमाउन बाध्य छन् । बिरामी भए गाउँमा अस्पताल छैन, सहरका अस्पताल लैजना एम्बुलेन्स गाउँमा पुग्दैन । मौसम अलि उघ्रिएका बेला कहिलेकसो झुल्किने सुमोले पनि मनलाग्दी भाडा माग्छन् । हरेक पटकको चुनाव हिउँदमा हुन्छ— त्यतिबेला सडक ठिकठाकै चल्छन् । सडक नै नभए पनि खेतका गरा हुँदै पनि गाडी हुइँक्याउन सकिन्छ । मौसमी अनुकूलताका कारण चुनाव हिउँदमा हुनु अनिवार्य सर्त पनि हो । तर, यहाँका बासिन्दालाई कुनै एउटा चुनाव बर्खामा गर्न पाए उम्मेदवारले पनि नागरिकका पीडा बुझ्थे कि ! भन्ने लाग्छ । उनीहरू व्यंग्यमिश्रित आक्रोश पोख्छन्, ‘यदि चुनाव बर्खामा हुने भए उम्मेदवारले हाम्रो दुःख देख्थे कि !’
०००
स्वास्थ्य बिमा : सेवा छ, सुविधा छैन
सरकारले स्वास्थ्य बिमा अनिवार्य गरेको छ । तर, बिमा कार्ड बोकेका नागरिकले उपचार सुविधा पाएका छैनन् । स्वास्थ्यचौकीबाट रेफर भएर जिल्ला सदरमुकाम पुग्न नसक्दा बिमा ‘सेवा छ, सुविधा छैन’ जस्तो भएको छ । स्थानीय सरकारले पनि नागरिकलाई सोचेजस्तो बिमामा सहभागी गराउन सकेको छैन । गत असार २४ गते खानीखोला–२ फलामेटारकी २९ वर्षीया गर्भवती लक्ष्मी गोलेलाई अचानक पेट दुख्यो । पति मीनराजले बोकेर स्वास्थ्यचौकी पुर्याए । थप उपचार आवश्यक भन्दै रेफर गरियो । तर, एम्बुलेन्स थिएन । निजी सुमोले २० हजार माग्यो, पछि फोनै उठेन । भोलिपल्ट ३ घन्टा पैदल स्ट्रेचरमा बोकेर कच्ची सडकसम्म पुर्याइयो । बेलुकी मात्रै बनेपास्थित शिर मेमोरियल अस्पताल पुग्दा ढिला भइसकेको थियो— गर्भ जोगिएन, आमा बाँचिन् ।
यस्तै, गत साउन १ गते खानीखोला–१ का ४० वर्षीय हेमबहादुर थिङ उच्च ज्वरो र अचेत भएर बिरामी परे । ४ घन्टाको उकालो स्ट्रेचरमा बोकेर कच्ची सडकसम्म ल्याइयो । राति मात्रै अस्पताल पुगेका उनलाई लाखौँ खर्च गरेर पनि निको हुन महिनौँ लाग्यो । यस्तै, महाभारत–२ मोक्तानटोलका बाबुलाल मोक्तान पनि १ सातादेखि सिकिस्त भएपछि ४ घन्टाको बाटो बोकेर गाडीसम्म ल्याई अस्पताल पुर्याइएको थियो । यी घटना अपवाद होइनन्, यस भेगका नागरिकका लागि हरेक बर्खाको नियति हो । यो भूगोलका लागि ‘रेफर’ भनेको भाग्यको जुवाजस्तै हो । समयमै अस्पताल पुग्न सके बिरामी बाँच्न पनि सक्छ, नत्र… । कहिलेकाहीँ हवाई एम्बुलेन्समार्फत् उद्धार त हुन्छ, तर लामो र झन्झटिलो प्रक्रिया पुर्याउँदा पुर्याउँदै बिरामीले देह त्यागिसक्छ । कतिलाई त हवाई उद्धार हुन्छ भन्ने पनि थाहा छैन ।
०००
पालिका प्रमुखहरू भन्छन्– ‘संघ र प्रदेशले सहयोग नगर्दा हामी केही गर्न सक्दैनौँ’
स्थानीय जनप्रतिनिधि भन्छन्— ‘यी २ पालिकामा कम्तीमा ५० शय्याको सुविधासम्पन्न अस्पताल अत्यावश्यक छ । भवन निर्माणको केही काम सुरु भए पनि उपकरण, विशेषज्ञ र व्यवस्थापन अभावमा सञ्चालन हुन सकेको छैन । जटिल केसमा अन्तिम विकल्प हेलिकोप्टर उद्धार नै रहन्छ । तर, हरेक बिरामी हवाई उद्धारको पहुँचमा हुँदैन ।’ खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) भन्छन्, ‘सदरमुकाम जोड्ने स्थायी सडक पालिकाको स्रोतले भ्याउँदैन । शीघ्रेदोभानको पुल नबनेसम्म दुःख टर्दैन ।’ झन्डै दशकअघिदेखि काम अड्किएको पुलले मकवानपुर–हेटौँडातर्फको पहुँच सहज बनाउने आशा जगाएको थियो । कामले गति लिए पनि सम्पन्न हुन सकेको छैन । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा पनि भन्छन्, ‘भूगोल कठोर छ, तर संघ–प्रदेशको समन्वयबिना दिगो समाधान सम्भव छैन ।’
०००
न शिक्षा न बजार, बढ्दो छ बसाइँसराइ
डाँडापारिका यी २ पालिकामा सडक र स्वास्थ्यको मात्रै समस्या छैन, उच्च शिक्षा लिन वा सीप सिक्न विद्यार्थीहरू प्रदेश राजधानी हेटौँडा वा सदरमुकाम धुलिखेल आसपासका सहर धाउन बाध्य छन् । उत्पादित कृषि वस्तुको बजार टाढा छ, ढुवानी महँगो । बिजुली भर्खरै पुगेको छ, तर सबै घरमा स्थिर आपूर्ति छैन । खानेपानी, सिँचाइ र सञ्चार सेवामा पनि उस्तै चुनौती छन् । परिणाम— सुगम भेगतर्फ बसाइँसराइ बढ्दो छ ।
युवाको स्वःस्फूर्त अभियान
निराशाबीच आशाको सानो झिल्को पनि छ । गत वर्ष जीवन खुलाल, मिलन अधिकारी, सुरेश तिमल्सिनालगायत २ दर्जन युवाले चन्दा उठाएर हेटौँडाबाट खानीखोला–५ शीघ्रेदोभान जोड्ने केही किलोमिटर सडक निर्माण अभियान चलाए । समुदाय जुटेपछि असम्भव जस्तो देखिएको काम सम्भव भयो । उनीहरू मिलेर झन्डै २ किलोमिटर बाटो ढलान गरेका थिए । तर, राज्यको स्थायी लगानी र गुणस्तरीय संरचनाबिना यस्तो पहलले मात्र दीर्घकालीन समाधान दिन सक्दैन भन्ने निष्कर्ष निकाल्दै उनीहरू पनि राज्यको उपेक्षाप्रति दिक्क भएका छन् ।
०००
२८ हजार नागरिकको एउटै माग– ‘हामीलाई सामान्य सुविधा देऊ’
२०७८ को तथ्यांकअनुसार खानीखोलामा १२ हजार २०१ र महाभारतमा १६ हजार ७९ जनसंख्या छ । यो जनसंख्याको अपेक्षा र आवश्यकता कुनै विलासिता होइन, सामान्य जीवनयापन गर्न पाउँ भन्ने छ । स्थायी मोटरबाटो, सुविधासम्पन्न अस्पताल, प्राविधिक शिक्षालय, भरपर्दो बिजुली–खानेपानी र उत्पादनको सहज बजारसँगै उचित मूल्य पाए पुग्छ— यहाँका नागरिकलाई । उम्मेदवारहरू गाउँका डाँडाकुना चढेर भोट माग्छन्, जित्छन्, अनि ५ वर्ष मौन हुन्छन्— यहाँका स्थानीयले लगाउने साझा आरोप हो यो ।
‘हामी ठुलो सपना माग्दैनौँ,’ एक युवा जीवनराज खुलाल भन्छन्, ‘यस पटकको भोट हामीले बडो विचार गरेर हाल्नुपर्नेछ । हरेक पटकको धोकापछि हामी सबैले सोच्नुपर्ने बेला भएको छ ।’ फागुन २१ नजिकिँदै जाँदा चुनावी नाराले गाउँ–सहर गुन्जिएका छन् । तर, डाँडापारिका बस्तीमा मतदाताको मनमा प्रश्न छ— स्वास्थ्य बिमा अनिवार्य हुँदा सेवा किन टाढा ? रेफर प्रणाली किन जोखिमपूर्ण ? दशकौँदेखि पुल किन अधुरो ? बर्खामा ४ महिना किन नाकाबन्दी ?
लोकतन्त्रमा भोट शक्तिशाली अस्त्र हो । तर, भोटले बाटो, अस्पताल र अवसर नबनाएसम्म त्यो शक्ति अधुरो रहन्छ । काभ्रेको डाँडापारिका नागरिक भन्छन्, ‘हामी भोट हाल्दा पीडा बिर्सिन्छौँ, बर्खामा तिनै नेतालाई सत्तोसराप गर्छौं ।’ आखिर कहिलेसम्म ? यस पटक उनीहरू बिर्सिन चाहँदैनन् । अब परिणाम खोजिरहेका छन्— कागजका घोषणामा होइन, हिलाम्मे बाटोमा गुड्ने स्थायी समाधान । जनमतको पर्व मानिने चुनावमा डाँडापारिका मतदाताको मौन प्रश्न नै यस पटकको सबैभन्दा ठुलो मुद्दा हो ।
काभ्रे जिल्लाको यस निर्वाचन क्षेत्रमा ९५ मतदान स्थल, १९८ मतदान केन्द्र छन् भने राजनीतिक दलका १५ जना र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा पुरुष ८३ हजार ७७३ (५२ प्रतिशत), महिला ७७ हजार ३२६ (४८ प्रतिशत) अन्य १ गरी १ लाख ६१ हजार १०० मतदाता छन् । तर, उम्मेदवारी दिएका सबै १८ जना पुरुष हुन् ।
प्रतिक्रिया