तारिकलाई बंगलादेशको बागडोर सुम्पिएर बिदा भए युनुस

काठमाडौँ । बंगलादेशमा करिब डेढ वर्षपछि जननिर्वाचित सरकार गठन भएको छ । मंगलबार बंगलादेशको नयाँ सरकारले शपथ लिएको छ भने प्रधानमन्त्रीका रुपमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमान नियुक्त भएका छन् । रहमानलाई बंगलादेशको संसद् भवनमा राष्ट्रपति महमद सबाहुदिनले शपथ गराएका थिए । शपथअघि मंगलबार नै संसद् भवनमा बसेको बीएनपी संसदीय दलको बैठकले तारिक रहमानलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो ।

प्रधानमन्त्री रहमानको नेतृत्वमा २५ मन्त्री र २४ राज्यमन्त्रीसहित ४९ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरिएको छ । मन्त्रीहरूको सूचीमा २३ सांसद र २ प्राविधिक अर्थात् टेक्नोक्र्याट सदस्य समावेश छन् । मुख्यमन्त्री पदका लागि भने मिर्जा फख्रुल इस्लाम आलमगिर, आमिर खोस्रु महमुद चौधरी, सलाहुद्दिन अहमद, इकबाल हसन महमुदलगायतका नेता चयन भएका छन् । त्यस्तै, २४ राज्यमन्त्रीको सूचीमा युवा तथा नयाँ अनुहारहरूलाई समेटिएको छ ।

माल्दिभ्सका राष्ट्रपति डा.मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोब्गे, भारतीय लोकसभाका सभामुख ओम बिरला, पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबाल चौधरी, नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रीलंकाका स्वास्थ्य तथा जनसञ्चार मन्त्री डा. नलिन्द जयतिस्सा जस्ता विदेशी कूटनीतिक अतिथिको उपस्थितिमा शपथग्रहण समारोह भएको थिए ।

सन् २०२४ को विद्यार्थी नेतृत्वमा भएको विद्रोहपछि बंगलादेशमा भएको संसदीय चुनावमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुईतिहाइ मत ल्याएको थियो । कुल ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन भएको थियो । १ सिटमा भने उम्मेदवारको मृत्युका कारण निर्वाचन स्थगित भएको थियो । त्यस्तै, निर्वाचन भएका २ सिटको नतिजा भने सार्वजनिक गर्न त्यहाँको अदालतले रोक लगाएको छ । यसरी २९७ सिटको परिणाममा बिएनपी एक्लैले २०९ सिटसहित दुईतिहाइ ल्याएको थियो । योसँगै बिएनपीका अध्यक्ष ६० वर्षीय तारिक प्रधानमन्त्री बन्न लागेका हुन् ।

जाँदा जाँदै युनुसले तरंगित बनाए भू–राजनीति

सन् २०२४ को जनआन्दोलन र शेख हसिनाको बहिर्गमनपछि डा. मोहम्मद युनुसले ‘प्रमुख सल्लाहकार’का रूपमा बंगलादेशको राज्य सत्ता सम्हाल्दै आएका थिए । संकटको समयमा बंगलादेशको बागडोर सम्हालेका युनुसको मुख्उ चुनौती भनेकै देशमा शान्ति सुव्यवस्था कायम गर्दै निष्पक्ष निर्वाचन गराउनु थियो । जसलाई उनले पूरा पनि गरे । योसँगै युनुसले तारिक रहमानलाई देशको बागडोर सुम्पिएर आफ्नो जिम्मेवारीबाट बिदा लिएका छन् । ‘मैले मेरो जिम्मेवारी पूरा गरेको छु, अब देशको भविष्य राजनीतिक नेतृत्व र जनताको हातमा छ’, बिदाईका क्रममा डा. युनुसले भने । त्यस्तै, यो निर्वाचन केवल सत्ता हस्तान्तरण मात्र नभइ, यो बंगलादेशको लोकतान्त्रिक यात्राको नयाँ अध्याय र नयाँ बंगलादेशको जन्म भएको उनले बताए ।

जाँदा जाँदै उनले नेपाल, भुटान र भारतका उत्तर–पूर्वी राज्यलाई समेट्ने गरी क्षेत्रीय सहयोग र कनेक्टिभिटी विस्तार गर्न सकेमा बंगलादेशको विकासले नयाँ उचाइ लिने उल्लेख गर्दै भूराजनीतिमा नयाँ तरंग पैदा गरिदिएका छन् । उनले भारतको उत्तर–पूर्वीका ७ राज्य ‘सेभेन सिस्टर्स’लाई नेपाल र भुटानजस्ता सार्वभौम मुलुकसँगै एउटै आर्थिक डालोमा राखेर हेर्नुपर्ने प्रस्ताव अघि सारे । ‘बंगलादेशले सेभेन सिस्टर्स राज्यहरू, नेपाल र भुटानका लागि आर्थिक समृद्धिको ठुलो सम्भावना दिन सक्छ । हाम्रो खुला समुन्द्र केवल भौगोलिक सीमा मात्र होइन, यो विश्व अर्थतन्त्रमा प्रवेश गर्ने एउटा महत्वपूर्ण ढोका हो,’ उनले भने ।

भारतका राज्यहरूलाई स्वतन्त्र राष्ट्रहरू नेपाल र भुटानसँग एउटै डालोमा राखेर प्रस्तुत गरेको विषयले दक्षिण एसीयाको भूराजनीति तरंगित बनेको छ । त्यस्तै, राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले आफ्नो कार्यकालमा बंगलादेशको परराष्ट्र नीतिलाई स्वतन्त्र र मर्यादित बनाउन सफल भएको बताउँदै अब बंगलादेश कसैको आदेशमा नचल्ने स्पष्ट पारे ।

सत्ता हस्तान्तरण जति सहज देखिए पनि, तारिक रहमान र नयाँ सरकारका सामु केही गम्भीर चुनौतीहरू भने छन् । आन्दोलन र राजनीतिक अस्थिरताले थलिएको अर्थतन्त्रलाई गति दिनु पर्ने छ भने कर्मचारीतन्त्र र सुरक्षा निकायमा रहेका पूर्वसरकारका अवशेषहरूलाई व्यवस्थापन गर्नुपर्ने अर्को पहाड तारिक सरकारअघि अभिएको छ ।

प्रतिक्रिया