
मुगु । मुगुको सोरु गाउँपालिका-१० र ११ वडामा पछिल्लो १ महिनादेखि फैलिएको अज्ञात रोगले पशुहरू धमाधम मर्न थालेका छन् । सोरु-१० र ११ वडा अन्तर्गतका दही, कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकायावाडा र कोट गाउँमा फैलिएको अज्ञात रोगका कारण २०० भन्दा बढी भेडा र बाख्रा मरेका हुन् । यी २ वडाका बासिन्दाको मुख्य पेसा नै भेडा र बाख्रापालन भएकाले रोगका कारण पशुचौपाया मरेपछि स्थानीय किसान चिन्तामा परेका छन् ।
स्थानीय युवा तथा नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार यी २ वडामा करिब १ हजार ५०० देखि २ हजारसम्म भेडा र बाख्रा रहेका छन् । उनका अनुसार दैनिक रूपमा पशु मर्न थालेपछि गाउँमा त्रासको अवस्था सिर्जना भएको छ । संक्रमित पशुको फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिएको किसानहरूले जानकारी दिएका छन् ।

स्थानीय किसान रतन मल्लले आफूसँग रहेका ८० भेडामध्ये १० वटा मरेको बताए । अर्का किसान पुन्न मल्लका अनुसार ६० भेडामध्ये ९ वटा रोगका कारण मरेका छन् । त्यस्तै, बाख्रा किसान काइचन्द्र देवकोटाका १५० बाख्रामध्ये २० वटा मरेका छन् ।
यसैगरी स्थानीय प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेकलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन् । वडाका १०० भन्दा बढी किसानका भेडाबाख्रा मरेको स्थानीयले बताएका छन् । पशु मृत्युदर बढ्दै जाँदा किसानहरूको पेसा र आर्थिक अवस्था नै संकटमा परेको छ ।

किसानहरू परिवार कसरी पाल्ने र छोराछोरीको पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्तामा छन् । स्थानीय किसान देवीभक्त प्याकुरेलले अहिलेको अवस्था इतिहासकै पीडादायी बनेको बताए । उनले भने, ‘रोगका कारण कति रुनु, कहाँ जानु, दिनदिनै बाख्रा मरेर सखाप भइरहेका छन् ।’ यति ठुलो क्षति हुँदासमेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालयले चासो नदेखाएको स्थानीयको गुनासो छ । उनीहरूले तत्काल पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

मुगु
प्रतिक्रिया