
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसले लामो समयपछि यस क्षेत्रमा स्थानीय उम्मेदवारका रूपमा बालकृष्ण घिमिरेलाई अघि सारेपछि तराईदेखि पहाडी भेगसम्मका मतदाता र कार्यकर्तामा नयाँ उत्साह देखिएको हो ।
यसाे त उम्मेदवार घिमिरेले यसभन्दा अगाडिबाटै तराइदेखि पहाडका भौगोलिक विकटता आफूले राम्रोसँग बुझेको र स्थानीय मतदाताको समस्या हल गर्न उत्सुक रहेको बताउँदै आएका छन् । साविक भारतीपुर गाविस तथा हाल बुलिङटार गाउँपालिका– ६ ढाँसीमा जन्मिएका उम्मेदवार घिमिरेले शहरदेखि पहाडसम्मका समग्र मतदाताबाट आफूले मत पाएर चुनाव जित्ने विश्वास व्यक्त गरे ।
विगत १८ वर्षदेखि निरन्तर बाहिरी जिल्लाका उम्मेदवारलाई जिताउँदै आएका यहाँका स्थानीयले पनि यसपटक आफ्नै भूगोलमा भिजेको र सुख–दुःखमा साथ दिने नेता पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
१८ वर्षपछिको स्थानीय अनुहार
वि.सं. २०६४ देखि लगातार तीनवटा निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं बीपी पुत्र डा. शशांक कोइरालाले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका थिए । कोइरालाले यस क्षेत्रलाई कांग्रेसको सुरक्षित गढ बनाए पनि स्थानीयस्तरमा सधैँ उपलब्ध हुने नेताको अभाव खड्किरहेको बेला पार्टीले यसपटक जिल्ला उपसभापति घिमिरेलाई टिकट दिएको हो ।
२०५६ सालमा दामोदर बस्ताकोटीपछि पहिलो पटक नवलपुर–१ ले स्थानीय उम्मेदवार पाएको छ, जसले गर्दा संगठनभित्र मात्र नभई आम मतदातामा पनि सकारात्मक सन्देश गएको छ ।
पहाड र तराईको ‘सेतु‘
बुलिङटार गाउँपालिका–६ मा जन्मिएका घिमिरेको हालको बसोबास सदरमुकाम कावासोतीमा रहेको छ । पहाडमा जन्म र तराईमा कर्मथलो भएकाले उनलाई दुवै भूगोल बुझेको नेताका रूपमा चिनिन्छ ।
‘मेरो जन्म पहाडी क्षेत्र बुलिङटारमा भयो, तर म अहिले सदरमुकाममा बस्छु, मतदाताका समस्या र जिल्लाको विकासको खाका मेरो मानसपटलमा पहिलेदेखि नै छ,’ उम्मेदवार घिमिरेले भने, ‘यसअघि पनि मैले यहाँका समस्या राजनीतिमार्फत समाधान गर्ने प्रयास गरेको थिएँ, अब जनप्रतिनिधि बनेर ती विकासका सपना पूरा गर्नेछु ।’
बौद्धिक व्यक्तित्व र सामाजिक योगदान
घिमिरे केवल राजनीतिकर्मी मात्र नभएर एक कुशल अधिवक्ता र प्राध्यापक पनि हुन् । दुई दशकसम्म शैक्षिक क्षेत्रमा बिताएका उनले मध्यविन्दु प्रादेशिक अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हाल्दै स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य सुधार गरेका छन् । उनको यो सामाजिक र नीतिगत दख्खललाई मतदाताले चुनाव जित्ने बलियो आधार मानेका छन् ।
कांग्रेसको बलियो साख
२०४८ सालमा सूर्यभक्त अधिकारी, २०५१ मा महेन्द्रध्वज जिसी र २०५६ मा दामोदर बस्ताकोटी विजयी भएको यो क्षेत्र कांग्रेसका लागि ऐतिहासिक रूपमै सुरक्षित मानिन्छ । यसपटक नयाँ र युवा नेतृत्व घिमिरेको उदयले कांग्रेसको यो विरासतलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय मतदाताहरू भन्छन्, ‘हामीलाई हाम्रै समस्या सुन्ने र जिल्लामै भेटिने नेता चाहिएको थियो, घिमिरेको उम्मेदवारीले त्यो रिक्तता पूरा गर्ने विश्वास लिएका छौँ ।’ नयाँ उम्मेदवार मिरेका केही यस्ता पक्ष छन् जसले उनलाई विपक्षीभन्दा अगाडि राख्छन् ।
बौद्धिक र कानुनी दख्खल राख्ने अधिवक्ता भएकाले संसदमा नीति निर्माण र कानुन बनाउने प्रक्रियामा उनले प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने विश्वास मतदातामा छ ।
मध्यविन्दु अस्पतालको ब्रान्डिङ अस्पताल विकास समितिको अध्यक्ष हुँदा उनले गरेका सुधारका कामहरूले तल्लो तहका जनतामा उनको नाम र काम दुवै पुगेको छ ।
पार्टीको आन्तरिक एकता र १८ वर्षपछि स्थानीयले टिकट पाएका कारण जिल्ला तहका अन्य आकांक्षी र नेताहरू पनि यसपटक घिमिरेलाई जिताउन एकढिक्का हुने देखिन्छ ।
प्रतिक्रिया