
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गर्नेछ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्ने र रुसबाट तेल खरिद रोक्ने सहमति जनाएको उल्लेख गरेका छन् । यससँगै भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि हटाइनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत सम्झौताप्रति खुशी व्यक्त गर्दै “भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद” भनेका छन् ।
ट्रम्पका अनुसार भारतले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म भन्सार कर लगाएको थियो। गत साता भारत र युरोपेली संघबीच भएको स्वतन्त्र व्यापार सम्झौतापछि आएको यो सम्झौतालाई ऐतिहासिक मानिएको छ ।
प्रतिक्रिया