न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु

न्यूयोर्क । गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानले चिसोका कारण ८ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।

अमेरिकामा जाडोको मौसममा ठुलो आँधीका कारण जनवरी २५ यता उल्लेख्य मात्रामा हिउँ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म ६ करोड ७० लाख पाउन्ड हिउँ पग्लिसकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताएका छन् ।

घरबारविहीन तथा विस्थापितहरूलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइहरू घरबारविहीनहरूका लागि खुला हुने र तातो र सुरक्षित आश्रयहरू न्युयोर्क सहरका ५ वटा स्थानमा मानिसहरूका लागि खुला रहने जनाइएको छ ।

२ हजार ४०० भन्दा बढी उडान अवरुद्ध

यसैबीच अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको शार्लोट डग्लस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार र आइतबार गरी १ हजार ८०० भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ । यसैबीच रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ ।

यसैगरी हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार एटलान्टा जाने लगभग ५० वटा उडानबाहेक ६०० भन्दा बढी उडान रद्द गर्ने घोषणा गरेको थियो । अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । आँधीसँगै आएको शक्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम–३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेको छ ।

प्रतिक्रिया