
पेरिस । इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुनसक्छ भनी चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् । गत महिनाको सरकार विरोधी प्रदर्शनमा इरानी अधिकारीहरूको दमनपछि ट्रम्पले सैन्य कारबाहीको धम्की दिँदै मध्यपूर्वमा विमानवाहक पानीजहाज पठाउने आदेश दिएका थिए । इरानी सर्वोच्च नेता खामेनीले हालैको विरोध प्रदर्शनलाई ‘कु’ सँग तुलना गर्दै अमेरिकी आक्रमणले व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् । खामेनीले यदि अमेरिकीहरूले युद्ध सुरु गरे भने यो पटक क्षेत्रीय युद्ध हुनेछ र इरानी जनता डराउन नपर्ने बताएका छन् ।
इरानमा बढ्दो महँगीको विरोधबाट प्रदर्शनहरू सुरु भएर सरकार विरोधी आन्दोलनमा परिणत भएका थिए, जसलाई देशका नेताहरूले संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएको ‘दंगा’ भनेका छन् । इरानी अधिकारीहरूले हिरासतमा रहेका प्रदर्शनकारी एरफान सोल्टानीलाई जमानतमा रिहा गर्न आदेश दिएका थिए । तर उनका वकिलका अनुसार वासिंगटनले उनलाई मृत्युदण्डको खतरा छ भनी चेतावनी दिएको थियो । जनवरीमा उनलाई राष्ट्रिय सुरक्षाको विरोध गरेको आरोपमा इरानको न्यायपालिकाले पक्राउ गरेको थियो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले संयुक्त राज्य अमेरिकासँग विश्वास गुमाए पनि मध्यस्थ देशहरूले विश्वास पुनर्निर्माणमा सहयोग गरिरहेको बताए । उनले सिएनएनसँगको अन्तर्वार्तामा भने, ‘यदि अमेरिकी वार्ता टोलीले ट्रम्पको निर्देशन अनुसरण गर्छ भने निष्पक्ष सम्झौतामा पुग्न सम्भावना छ, जसले आणविक हतियार नभएको सुनिश्चित गर्नेछ ।’
तेहरानले विरोध प्रदर्शनका क्रममा हजारौँको मृत्यु स्वीकार गरेको छ । सर्वोच्च नेता खामेनीले ३ हजार ११७ मध्ये २ हजार ९८६ व्यक्तिको नाम सार्वजनिक गरेका छन् जसमा अधिकांश सुरक्षा बलका सदस्य र निर्दोष नागरिक थिए । उता अमेरिकामा आधारित मानवअधिकार एजेन्सीले ६ हजार ८४२ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा अधिकांश प्रदर्शनकारी थिए । यसपछि युरोपेली संघ (इयु) ले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सलाई आतंकवादी संगठनका रूपमा सूचीबद्ध गरेको थियो, जसलाई इरानी सांसदहरूले प्रतिशोध स्वरूप आलोचना गरेको थियो ।
इरानी नागरिकहरू चिन्तित र डराएका छन्, कतिपयले मध्यरातमा समाचार हेरेर सुरक्षा स्थिति जाँच गरेका छन् । तेहरानका अधिकारीहरू भने वार्ताका लागि संरचनात्मक व्यवस्था प्रगतिमा रहेको बताएका छन् । ट्रम्पले इरानले सैन्य कारबाहीको सट्टा आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रममाथि सम्झौता गर्ने विश्वास रहेको बताएका छन् । तेहरानले आफ्नो क्षेप्यास्त्र र रक्षा क्षमताहरूको बारेमा नभएर आणविक वार्ताका लागि तयार रहेको संकेत दिएको छ ।
प्रतिक्रिया