ट्रम्पको अभिव्यक्तिविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्यांग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झन्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए ।

प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दा त्यही दिन फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि ८ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेको खबर सार्वजनिक भएको थियो । यो घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरेको बताइएको छ ।

‘मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो’, स्थानीय युवा मलिक डोलेरूप–शेबेलले भने । उनले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र जनताप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको बताए ।

राष्ट्रपति ट्रम्पले विगतदेखि नै रणनीतिक रूपमा महत्वपूर्ण र खनिज स्रोतले धनी ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । ग्रिनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो । यसै महिनाको सुरुमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने सैन्य कारबाहीपछिका अभिव्यक्तिले उनको अडान अझ कडा बनेको स्थानीय नेताहरूको भनाइ छ ।

२१ वर्षीय डोलेरूप–शेबेल र प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसंख्याको करिब एकचौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठुलो प्रदर्शन हो । यस्तै समर्थन स्वरूप डेनमार्कका विभिन्न सहरहरू, कोपनहेगन तथा क्यानडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता ¥यालीहरू आयोजना गरिएका थिए ।

कोपनहेगनमा सहभागी एलिस रिचीमहिलाले ‘यो केबल ग्रिनल्यान्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै कुनै पनि सानो राष्ट्र बिक्रीका लागि नहुने स्पष्ट सन्देश दिइन् । नुकमा आयोजित प्रदर्शनमा सबै उमेर समूहका नागरिक सहभागी थिए । परम्परागत गीतसंगीतसहितको पदयात्रामा ४७ वर्षीया मेरी पेडरसन आफ्ना सन्तानसहित सहभागी थिइन् । ‘हामी हाम्रो देश, संस्कृति र परिवार सुरक्षित राख्न चाहन्छौँ’, उनले भनिन् । उनकी ९ वर्षीया छोरी अलास्काले आफैँले बनाएको ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् ।

नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिबारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठुलो भएको जानकारी दिए । ‘यसले युरोप एकताबद्ध छ भन्ने सन्देश दिन सकोस् भन्ने हाम्रो चाहना हो’, उनले भने ।

ग्रिनल्यान्डको संसद्की पूर्वसदस्य टिली मार्टिनसनले ट्रम्प प्रशासनले ग्रिनल्यान्ड अधिग्रहणको ‘अविवेकी विचार’ त्याग्ने आशा व्यक्त गरिन् । उनले मित्रता र सहयोगको नाममा सुरु भएका अभिव्यक्तिहरू अहिले खुला धम्कीमा परिणत भएको टिप्पणी गरिन् । उनका अनुसार सम्भावित आर्थिक दबाबभन्दा नाटो र ग्रिनल्यान्डको स्वायत्तता संरक्षण बढी महत्वपूर्ण छ ।

४० वर्षीया नर्स लुइस लेनर्ट ओल्सेनले राष्ट्रपति ट्रम्पभन्दा पनि अमेरिकी जनतालाई सन्देश दिन चाहेको बताइन् । ‘हामी अहिले जस्तो ग्रिनल्यान्ड रहन चाहन्छौँ भन्ने हाम्रो इच्छालाई उनीहरूले समर्थन गरून्’, उनले भनिन्, ‘मलाई आशा छ, उनीहरू आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध उभिनेछन् ।’

प्रतिक्रिया