
सियोल । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०२४ को अन्त्यतिर उनले जारी गरेको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा नहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ ।
युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उनले आफ्नो मार्सल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ, जसमा कानून अनुसार मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान रहेको छ । यद्यपि, उक्त गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ ।
यस मुद्दासँग सम्बन्धित रूपमा सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उनलाई हिरासतमा राख्ने अधिकारीहरूको आदेश अवहेलना गरेको लगायतका अन्य अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । अदालतले यी कार्यहरूलाई कानूनी शासनविरुद्धको गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।
यस फैसलापछि युनले तत्काल सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर यसअघि एक स्वतन्त्र विशेष वकिलले ती आरोपहरुमा उनलाई १० वर्षको जेल सजायको माग गर्दा युनको प्रतिरक्षा टोलीले ती आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको र यस्तो अत्यधिक सजायको माग गर्न कानूनी आधार नभएको तर्क प्रस्तुत गरेको थियो ।
डिसेम्बर २०२४ मा युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उहाँको कदमविरुद्ध देशभर व्यापक जनआन्दोलन सुरु भएको थियो । ती प्रदर्शनहरुमा उनको निष्कासनको माग चर्किँदै गएपछि अन्ततः उनीमाथि महाभियोग लगाइयो, पक्राउ गरियो र राष्ट्रपतिको पदबाट बर्खास्त गरियो ।
युनले भने आफ्नो आदेश देशलाई लामो समयसम्म सैन्य शासनमा लैजाने उद्देश्यले नभई आफ्नो एजेन्डामा निरन्तर अवरोध पुर्याइरहेको उदार–नियन्त्रित संसदबाट उत्पन्न खतराबारे जनतालाई सचेत गराउन मात्र जारी गरिएको दाबी गर्दै आएका छन् । तर अनुसन्धानकर्ताहरुले भने उक्त आदेशलाई विद्रोह, शक्तिको दुरुपयोग तथा अन्य आपराधिक अपराधको रूपमा व्याख्या गर्दै उनले आफ्नो शासन सुदृढ र दीर्घकालीन बनाउन खोजेको निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया