सुन अकासिएसँगै चम्किँदै चाँदी

औद्योगिक मागमा आएको तीव्र वृद्धिले अन्तर्राष्ट्रियदेखि स्वदेशी बजारसम्म चाँदीको भाउले नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ

काठमाडौँ । सेतो धातु चाँदीको भाउले स्वदेशी तथा विदेशी बजारमा ऐतिहासिक कीर्तिमान बनाएको छ । सन् २०२५ को सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने धातुका रूपमा चर्चा पाएको चाँदीको भाउले दिनानुदिन रेकर्ड ब्रेक गर्दै गएको हो । सोमबार नेपालमा चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भयो । यो हालसम्मकै सबैभन्दा बढी हो । पछिल्ला केही दिनयता विश्व वजारमा चाँदीको भाउ दैनिक ५ प्रतिशतले वृद्धि भइरहेको छ । मंगलबार चाँदीको भाउ प्रतिऔँस ८४ डलर पुगेको छ । लन्डन वुलियन बजार संघको तथ्यांकअनुसार गत वर्षको सुरुमा प्रतिऔँस २९ डलर रहेको चाँदीको भाउ १ वर्षमा करिब १८२ प्रतिशतले बढेको देखिन्छ ।

डलरको मूल्यमा वृद्धि तथा नेपालमा लाग्ने थप शुल्कका कारण चाँदीको भाउ अकासिएको हो । चाँदीको आयात तथा खरिदमा आधारभूत भन्सार शुल्क १० प्रतिशत, विलासिता कर २ प्रतिशत र गहना किन्दा २३ प्रतिशत भ्याट लाग्ने हुँदा थप महँगो हुन पुगेको व्यवसायीहरू बताउँछन् ।


चालु आर्थिक वर्षको ६ महिनामा चाँदीको भाउ दोब्बरभन्दा बढीले बढेको छ । चालु आवको पहिलो दिन साउन १ गते नेपालमा चाँदीको भाउ २ हजार १६५ रुपैयाँ रहेकामा पुस २८ सम्म पुग्दा २ हजार ९३० रुपैयाँले बढेर ५ हजार १९५ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार चालु आवको ६ महिनामध्ये सबैभन्दा धेरै पुसमा औसत १३०० रुपैयाँले वृद्धि भएको छ भने कात्तिकमा १० रुपैयाँले बढेको देखिन्छ । नेपालमा २०७५ वैशाख १ मा चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँ थियो ।

नेपालमा मात्रै नभई विश्व बजारमै चाँदीको मूल्य तीव्र गतिमा बढ्दै गएको देखिन्छ । विश्वकै सबैभन्दा मूल्यवान् सम्पत्तिको दोस्रो नम्बरमा चाँदीले स्थान बनाएको छ । औद्योगिक मागको तीव्र वृद्धिले अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी बजारसम्म चाँदीको भाउले नयाँ–नयाँ कीर्तिमान बनाइरहेको जानकारहरू बताउँछन् । विश्व बजारमा डलरको मूल्य बलियो हुनु र ब्याजदरमा हुने फेरबदलले चाँदीको मूल्य बढाएको हो । नेपाल सरकारले सुनचाँदीको आयातमा लगाउने भन्सार दर र विलासिता करमा गर्ने वृद्धिले पनि स्थानीय बजारमा मूल्य महँगो बनाएको व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय चाँदी पनि लगानीको केन्द्र बन्दै जाँदा भाउ अकासिएको र यो क्रम तत्कालै रोकिने सम्भावना कम रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले भने, ‘विश्व बजारमा चाँदीको माग ह्वात्तै बढेको छ भने चीनले निर्यातमा कडाइ गरेको छ । अमेरिका–भेनेजुएला तनावपछि लगानीकर्ता सुन र चाँदीतर्फ झुम्मिँदा भाउ निरन्तर बढ्दो छ ।’ सुनको मूल्य वृद्धि भएपछि लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएको उनको भनाइ छ । चाँदीको मूल्य अझै बढ्ने आशाले ठुला लगानीकर्ताहरूले चाँदी खरिद गरेर स्टकमा राखेका कारण पनि छोटो समयमै चाँदीको मूल्य अकासिएको शाक्यले उल्लेख गरे । चाँदीका नयाँ खानी नखुलेको र नयाँ खानी खोल्न लागत महँगो हुने भएकाले पनि चाँदीको मूल्य निरन्तर उकालो लागेको बताइन्छ ।

त्यस्तै, ऊर्जा रूपान्तरणमा प्रयोग हुने सामग्री, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको बताइन्छ । विश्वको ध्यान हरित ऊर्जातर्फ केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विद्युतीय सवारीसाधनमा प्रयोग गरिनेमध्ये किफायती, छिटो चार्ज हुने, लामो आयु भएको र आगलागीको सम्भावना न्यून भएको ब्याट्री निर्माण गर्दा चाँदीको प्रयोग धेरै हुने बताइन्छ । जापान, चीन, दक्षिण कोरिया, अमेरिका, युरोपलगायतका कम्पनीले यस प्रकारको ब्याट्री उत्पादनका लागि ठुलो लगानी गरेकाले भाउ र माग ह्वात्तै बढेको विश्लेषकहरू बताउँछन् ।

०००

कहिले कति आयात ?

पछिल्लो १० वर्षमा चाँदी आयातको अवस्था हेर्दा आव २०७५/७६ मा सबैभन्दा बढी १६ अर्ब ९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको देखिन्छ । त्यस्तै, २०७८/७९ मा १५ अर्ब ९५ करोड रुपैयाँको आयात हुँदा २०७४/७५ मा १३ अर्ब ३७ करोड, २०७२/७३ मा ७ अर्ब १२ करोडको चाँदी आयात भएको छ । चालु आवको ५ महिनामा ८ अर्बभन्दा बढी मूल्यको चाँदी आयात भइसकेको छ । केही दिनअघि राष्ट्र बैंकले चाँदी आयातको नियममा केही लचकता अपनाउँदै गहना उद्योगहरूले प्रतिकारोबार ५ लाख अमेरिकी डलरसम्म र अन्य व्यवसायीले १ लाख डलरसम्मको चाँदी कच्चा पदार्थका रूपमा आयात गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया