
काठमाडौँ । कडा आप्रवासन नीति अपनाउँदै आएको अमेरिकी प्रशासनले अमेरिकाको भिसा नियममा कडाइ गर्दै नेपाललाई ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा सूचीकृत गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘भिसा बन्ड’सँगै नेपाली नागरिकले अमेरिकाको बी–१÷बी–२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्नेछ । यो नियम नेपाललाई आगामी ७ माघ अर्थात् २१ जनवरीदेखि लागू हुनेछ । मन्त्रालयले भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले अन्तर्वार्ता दिने व्यक्तिको अवस्था हेरी न्यूनतम ५ हजारदेखि १० हजार डलर (७ लाख ११ हजारदेखि १४ लाख ४४ हजार नेपाली रुपैँयाँसम्म) र अधिकतम १५ हजार अमेरिकी डलर (२१ लाख ६६ हजार रुपैयाँ) धरौटी रकम तोक्ने उल्लेख गरेको छ । यो रकम अन्तर्वार्ताको समयमा निर्धारण गरिनेछ ।
सूचीमा नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएलालगायत ३८ देश छन् । सूचीमा विशेष गरी अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाली मुलुकहरू समावेश छन् । मन्त्रालयले तेस्रो पक्ष वा एजेन्टलाई धरौटी रकम नबुझाउन आग्रह गर्दै अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभमार्फत् मात्र रकम जम्मा गर्न भनेको छ । मन्त्रालयले भिसा बन्डमार्फत् अमेरिका आउने र अमेरिकाबाट फर्किने नेपाली नागरिकले ३ वटा विमानस्थलमात्र प्रयोग गर्न पाउने जनाएको छ । ती विमानस्थलमा न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्टन डिसीस्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल छन् । यी विमानस्थलबाहेक अन्य विमानस्थलको प्रयोग गरेको पाइएमा धरौटी रकम जफत हुने र भविष्यमा प्रवेशमा रोक लाग्न सक्ने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।
अमेरिका जाने क्रममा दूतावासमा अन्तर्वार्ता दिँदा तिरेको धरौटी रकम फिर्ता हुने मन्त्रालयले जनाएको छ । धरौटी रकम फिर्ता पाउन आवेदकले तोकिएको समयभित्रै अमेरिका छाडेको, भिसाको सर्त उल्लंघन नगरेको र तोकिएकै ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखाउनुपर्नेछ । तर, भिसाको म्याद सकिएर पनि अमेरिकामै बसेमा अथवा त्यहाँ शरण परेमा धरौटी रकम जफत हुने नयाँ प्रावधान ल्याएको छ । मन्त्रालयले अमेरिका पुगेर समयमा स्वदेश नफर्किने नागरिकका लागि यो नियम ल्याइएको जनाएको छ ।
प्रतिक्रिया