
काठमाडौँ । कोसी प्रदेशमा स्टार्टअप उद्यममा साढे २ अर्ब लगानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको विशेष अध्ययन प्रतिवेदनले साढे २ अर्ब लगानी भएको देखाएको हो । प्रतिवेदनअनुसार प्रदेशका १४ जिल्लामध्ये १० जिल्लामा सञ्चालनमा रहेका १६० वटा स्टार्टअप उद्यमहरूमा ४१.३ प्रतिशत कृषि तथा वनजन्य, १८.१ प्रतिशत उत्पादनमूलक, १७.५ प्रतिशत सेवामूलक, १३.८ प्रतिशत पर्यटन र ९.४ प्रतिशत सूचना प्रविधि क्षेत्रमा केन्द्रित छन् ।
१६० स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८०÷०८१ मा कुल १ हजार ४३६ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमध्ये ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष रहेका छन् । उक्त स्टार्टअप उद्यममा ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी रहेका छन् ।
स्टार्टअप उद्यममा २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४.४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन् । स्टार्टअप उद्यमहरूको कुल लगानी २ अर्ब ५६ करोड रहेको छ, जसमा ३८.७ प्रतिशत ऋण र ६१.३ प्रतिशत स्वपुँजी रहेको छ । बजार पहुँचमा ४५ प्रतिशत स्थानीय, ४६.९ प्रतिशत राष्ट्रिय र ५.९ प्रतिशत अन्तर्राष्ट्रिय बजारमा आधारित छन् ।
वस्तु तथा सेवामा ५४ प्रतिशत, उत्पादन प्रक्रियामा ४१ प्रतिशत र वितरण प्रक्रियामा ५ प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् । कोसी प्रदेशको उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रको रूपमा ४३.१ प्रतिशतले कृषि तथा वनजन्य, २१.३ प्रतिशतले पर्यटन, १३.८ प्रतिशतले उत्पादनमूलक, १० प्रतिशतले सेवामूलक, ८.१ प्रतिशतले सूचना प्रविधि, समान १.९ प्रतिशतले ऊर्जामूलक र निर्माण क्षेत्रलाई राखेका छन् ।
१६० स्टार्टअप उद्यम मध्ये ६५ वटा (४०.६ प्रतिशत) उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छन् भने ९५ उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छैनन् । ७२ वटा उद्यमको प्रमुख बजार स्थानीय बजार, ७५ वटा उद्यमको प्रमुख बजार राष्ट्रिय बजार र १३ वटा उद्यमको प्रमुख बजार अन्तर्राष्ट्रिय बजार रहेको छ ।
स्टार्टअप उद्यममा महिलामैत्री नीतिमा जोड
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उनको भनाइ थियो । नीति रिसर्च प्रालिद्वारा सोमबार यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रियामा मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आजको आवश्यकता भएको बताए । उनले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गरे ।
उनले भने, ‘असफलता नै सफलतातर्फको पहिलो पाइला हो, महिलाले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने बहस अब समाप्त भइसक्यो । अब महिलाहरू काम गरिरहेका छन्, उद्यम गरिरहेका छन् भन्ने यथार्थ स्थापित गर्न आवश्यक छ । त्यसका लागि महिला उद्यमीलाई माथि उकास्न राज्य, निजी क्षेत्र र समाज सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।’
मन्त्री सिन्हाले देशका विभिन्न स्थानमा महिलाले ठुला व्यापार तथा उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका उदाहरणहरू रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । महिला उद्यमीलाई आवश्यक सीप, लगानी, बजार र नीतिगत सहजीकरण प्रदान गर्न सके आर्थिक रूपान्तरणमा महŒवपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, अवसर तथा आगामी रणनीतिका विषयमा धारणा राखेका थिए । उनीहरूले वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सीप विकास र बजार पहुँचजस्ता चुनौतीहरू समाधान गर्न समन्वित पहल आवश्यक रहेको औँल्याएका छन् ।
त्यस अवसरमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई.उमेशकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलताको वर्तमान अवस्था, नीति संरचना र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत जानकारी गराए । नीति रिसर्च प्रालिका निर्देशक वासुदेव न्यौपानेले महिला केन्द्रित स्टार्टअपलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन नीति, प्रविधि र संस्थागत सहयोग अपरिहार्य रहेको बताए । उनले महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
प्रतिक्रिया