
कालीकोट । कर्णाली प्रदेश सरकार अन्तरगतका कालीकोटमा १० वटा कार्यालय छन् । कतिपय कार्यालयमा लेखापाल नहुँदा एउटै लेखा अधिकृतले कार्यालयको कामकाज हेरिरहेका छन् ।
दरबन्दी अनुसारको लेखाको अभावका कारण प्रदेश लेखा इकाई कालीकोटले लेखा अधिकृत विश्वामित्र उपाध्यायलाई ६ वटा कार्यालयको जिम्मा दिइएको छ । उपाध्याय आफू रातदिन कामकाजमा खटिएर ६ वटा कार्यालयको काम सरल र सहज गरिरहेको बताउँछन् ।
प्रदेश सरकारको संगठन तथा व्यवस्थापनसम्बन्धी ऐनमा पद स्थापना र कार्य विभाजन अनुसार प्रत्येक कार्यालयमा आवश्यक जनशक्ति दरबन्दी अनुसार राखिनुपर्ने भएता पनि कालीकोटमा प्रदेश सरकारअन्तर्गतका कार्यालयमा लेखाको दरबन्दी नुहँदा एउटै अधिकृतलाई कामको मार परेको हो ।
कानुनको मर्म, आन्तरिक नियन्त्रण र कार्यक्षमताको आधारमा जुनुसुकै कार्यालयमा रहेका लेखा अधिकृतले अन्य कार्यालयको कामकाजमा सघाउनु राम्रो पक्ष रहेको सरोकारवाला बताउँछन् ।
लेखा अधिकृत विश्वामित्र उपाध्यायले दरबन्दी अनुसारको लेखा नहुँदा कामकाजमा जटिलता आए पनि ६ कार्यालयको काम आफूले जिम्मेवारीपूर्वक गरिहेको जिकिर गरे ।
६ वटा कार्यालयमा गई कामकाज गर्ने वातावरण नभएका कारण आफूले एउटै कार्यालयमा फरक–फरक समयमा प्रत्येक कार्यालयको काम अहोरात्र खटिएर गरेको उनी बताउँछन् । लेखा अधिकृत विश्वामित्र उपाध्यायको प्रदेश लेखा इकाई कालीकोटमा दरबन्दी छ ।
तर लेखाको दरबन्दी अभावका कारण उपाध्यायले हाल डिभिजन वन कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय,प्रदेश लेखा ईकाइ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय गरी ६ वटा कार्यालयको कामकाजमा आफूले महत्वपूर्ण भूमिका निभाएको बताए ।

कालिकाेट
प्रतिक्रिया