काभ्रेको विभिन्न स्थानमा ७ जना भियतनामी नागरिकको रहस्यमय बसोबास

काभ्रे । पछिल्ला केही दिनयता काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा सात जना भियतनामी नागरिकको रहस्यमय बसोबासले स्थानीयवासीबीच कौतुहलता र आशंका दुवै बढाएको छ । प्रहरीका अनुसार ती सातै जना भियतनामी नागरिक बौद्ध धर्मका भिक्षु हुन् भन्ने बुझिएको छ ।

उनीहरूले गत कात्तिक ९ गतेदेखि १८ गतेसम्म काभ्रेको पनौती, बनेपा र धुलिखेल क्षेत्रका विभिन्न ठाउँमा पालैपालो बसेर ध्यान र बसोबास गरिरहेका थिए।

प्राप्त विवरण अनुसार मिति २०८२ कात्तिक ९ गते (अक्टोबर २५) मा उनीहरू नालाको बाटो हुँदै बनेपा–पनौती स्वास्थ्य चौकीमा पुगेका थिए । कात्तिक १० गते उनीहरू पनौती–८ मल्पीमा देखिएका थिए । कात्तिक ११ गते उनीहरूले धुलिखेल नगरपालिका–५ स्थित खोलाको बगरमा अस्थायी रुपमा शिविर खडा गरेका थिए ।

त्यसपछि कात्तिक १२, १३ र १४ गते उनीहरू धुलिखेल–५ श्रीखण्डपुर खड्पु प्रतीक्षालयमा बसेका थिए । कात्तिक १५ र १६ गते उनीहरू बनेपा–१० जनागाल मयलटार क्षेत्रमा बसोबास गरेको पुष्टि भएको छ । कात्तिक १७ गते उनीहरू बनेपा–१३ भैंसीपाटीमा देखिएका थिए ।

अन्ततः कात्तिक १८ गते दिउँसो १२ः३० बजे, उनीहरू बनेपा नगरपालिका–१३ महादेव खोला पुल नजिकको आर्यघाटमा बसिरहेको अवस्थामा स्थानीयले देखेका थिए । उनीहरू घुम्न आएको भए पनि कुनै पनि बौद्व तथा हिन्दूका मठ गुम्बामा गएका भने छैनन । त्यस लगत्तै आज उनीहरू भक्तपुरतर्फ गएको बताइएको छ ।

स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिहरू शान्त र ध्यानमा केन्द्रित देखिन्थे, तर उनीहरूको लगातार स्थान परिवर्तनले केही स्थानीयवासीले शंका गरेका छन् ।

सुरक्षा निकायले उनीहरूको परिचय, नेपाल आगमनको उद्देश्य र आवास सम्बन्धी विवरण संकलन गरिरहेको बताइएको छ। भिसा र कागजातको स्थलगत जाँच पनि भइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुलाई अहिले पनि नजिकैको क्षेत्रमा देख्न सकिने सम्भावना छ, र स्थानीय प्रशासनले यसबारे निरन्तर निगरानी गरिरहेको छ ।

यस घटनाले काभ्रेको शान्त शहर धुलिखेल–बनेपा–पनौती क्षेत्रमा चर्चा र अनौठो वातावरण सिर्जना गरेको छ । स्थानीयहरूले भने प्रहरीलाई सुरक्षा सतर्कता बढाउन र उनीहरुको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया