
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित जिनियस स्कूलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकासँगको सहकार्यमा नगरपालिका अन्तर्गत रहेका विभिन्न सामुदायिक विद्यालयका ४० जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कक्षा ३ सम्मका विद्यार्थीहरु ३० जना र कक्षा १० का विद्यार्थीहरु १० जनालाई स्टेशनरी, झोला, पोशाक र शुल्क वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन कुमार जोशीले बताए । उनले शिक्षामा सबैको सुनिश्चितता र समान पहुँचका लागि छात्रवृत्ति प्रदान गरिएको उल्लेख गरे ।
यस कार्यक्रमका अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले शिक्षामा सबै बालबालिकाको अधिकार भएको भन्दै शिक्षा पाउने अवसरबाट कसैलाई वञ्चित गर्नु नहुने धारणा राखे । उनले छात्रवृत्ति विद्यार्थीहरुलाई केवल पैसा दिने मात्रै नभई समावेशी शिक्षाको बाटो भएको बताए । उनले आफ्नो नगरभित्र कुनैपनि बालबालिकालाई गरिबीका कारण शिक्षाबाट बञ्चित नगराइने बताए ।
नगरपालिकाले आगामी वर्षदेखि थप विद्यालयहरूसँग सहकार्य गर्दै छात्रवृत्ति कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको जनाइएको छ । कार्यक्रममा जिनियस स्कूलका प्रिन्सिपल शिरिष श्रेष्ठले सबैको सहयोग र सहकार्यवाट छात्रवृत्ति वितरण कार्यक्रम सफल भएको भन्दै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, वडा नं. ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ, शिक्षा शाखा प्रमुख चिरञ्जिवी पौडेल, जिनियस स्कूल एम्बेसडर सिनियर क्याप्टेन विजय लामा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया