गत वर्षभन्दा सुधारियो कक्षा १२ को नतिजा

बाग्मती प्रदेशका सबैभन्दा बढी उत्तीर्ण, कम कर्णालीका

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१.१७ र आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेडेड भएका छन् ।

गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा २ लाख ४२ हजार ७६५ जनाले ग्रेड प्राप्त गर्दा आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका हुन् । समग्रमा ५ लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये २ लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ ६ जना गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षा बोर्डले गत वर्षभन्दा यो वर्ष ९ प्रतिशतले नतिजा वृद्धि भएको जनाएको छ । बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ ।

नतिजाअनुसार बाग्मती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी ग्रेडेड हुँदा कर्णालीका सबैभन्दा कम ग्रेडेड भएका छन् । यस्तै सबैभन्दा बढी ननग्रेडेड पनि बाग्मतीकै विद्यार्थी छन् । बाग्मतीका ८७ हजार ९७६ विद्यार्थी ग्रेडेड हुँदा ३६ हजार ८६५ विद्यार्थी ननग्रेडेड भएका छन् ।

यसैगरी, कोसी प्रदेशका ३७ हजार १६२ परीक्षार्थी ग्रेडेड हुँदा २४ हजार ९७९ जना ननग्रेडेड भएका छन् भने मधेस प्रदेशका २९ हजार ८४३ ग्रेडेड र २३ हजार ३२३ ननग्रेडेड, गण्डकीका १८ हजार १३८ जना ग्रेडेड हुुँदा १० हजार १०३ जनाले ननग्रेड पाएका छन् । लुम्बिनी प्रदेशमा ग्रेड पाउनेको संख्या ३६ हजार ७६३ छ भने ननग्रेड पाउनेको संख्या २९ हजार ३२३ छ । यस्तै, कर्णाली प्रदेशमा १२ हजार ७७७ ग्रेडेड र १२ हजार ६८१ जना ननग्रेडेड भएका छन् भने सुदूरपश्चिम प्रदेशमा १९ हजार ८०६ जना उत्तीर्ण हुँदा १६ हजार ६०८ जना अनुत्तीर्ण अर्थात् ननग्रेडेड भएको बोर्डले जनाएको छ ।

यस वर्ष ३.६१ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ छ भने ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ५५ हजार ८९६ छ । त्यस्तै, ९४ हजार २६८ जनाले २.८१ देखि ३.२० जिपिए ल्याउँदा २.४१ देखि २.८० ल्याउने ५९ हजार ८१२, २.०१ देखि २.४० ल्याउने ८ हजार ९६४ र सबैभन्दा कम १.६१ देखि २ जिपिए ल्याउने विद्यार्थी २३ जना छन् ।

यस्तै, ननग्रेडेड हुनेमध्ये सबैभन्दा धेरै अंग्रेजी विषयमा ६६ हजार २७५ जना ननग्रेडेड भएका छन् भने अकाउन्टमा ४१ हजार २६३ र सामाजिक शिक्षामा ३३ हजार ९२१ जना ननग्रेडेड भएका छन् । त्यस्तै नेपालीमा २८ हजार ३५६ जना ननग्रेडेड भएका छन् ।

प्रतिक्रिया