
झापा । सरकारले हरेक वर्ष सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रतिबद्धता गर्छ । र, त्यसका लागि विभिन्न उपाय अपनाउँदै पनि आएको छ । तर, परीक्षाको नतिजामा भने सरकारी स्कुलको अवस्था जहिल्यै नाजुक देखिन्छ । सरकारी स्कुलको पढाइ गतिलो छैन भन्ने कुरा सरकारी निकायमा रहेका उच्च पदस्थहरूले आफ्ना बालबच्चालाई निजी विद्यालयमा पढाउनुले पनि पुष्टि गर्छ । अरू त अरू सरकारी स्कुलमा पढाउने शिक्षकलेसमेत आफ्ना छोराछोरी भने निजी विद्यालयमा पढाइरहेका छन् । यसैबीच, झापाको कमल गाउँपालिकाले आफ्ना पालिकाका जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरूले नै आफ्ना छोराछोरी सरकारी स्कुलमा नपढाउने गरेको पाइएको जनाएको छ । पालिकाले उनीहरूले छोराछोरी कहाँ पढाइरहेका छन् भन्ने विवरण नै सार्वजनिक गरेको हो ।
‘सरोकारवालाहरूको जानकारीका लागि’ भन्दै पालिकाले सार्वजनिक गरेको विवरणमा आधाभन्दा धेरै जनप्रतिनिधि, सरकारी शिक्षक र सरकारी कर्मचारीले छोराछोरीलाई सरकारी स्कुलमा पढाएका छैनन् । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रमाणित गरेको विवरणमा ४१४ जना जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरूमध्ये ६७ जनाले मात्र आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाएको उल्लेख छ ।
निजी विद्यालयमा छोराछोरी पढाउनेहरू ९९ जना छन् । बाँकी २४८ जनामध्ये अधिकांशले आफ्ना छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको विवरण पालिकालाई उपलब्ध गराएका छन् । केहीले अविवाहित रहेको समेत जनाएका छन् भने केहीका छोराछोरी विदेशमा पढिरहेको समेत उल्लेख छ । पालिकाले सामुदायिक विद्यालयका २५७ जना शिक्षक, ३९ जना जनप्रतिनिधि र ११८ जना कर्मचारीको छोराछोरीको नाम, कक्षा र उनीहरू पढ्ने विद्यालयको नाम सार्वजनिक गरेको हो ।
पालिकाका अध्यक्ष राई र उपाध्यक्ष प्रमिला न्यौपानेका छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको जनाइएको छ । विद्यालय तहमा पढाउँदा कुन विद्यालयमा पढेका थिए भन्नेचाहिँ उल्लेख छैन । प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका २ छोराछोरीमध्ये एउटी छोरी निजी विद्यालयको कक्षा ३ मा अध्ययनरत रहेको पाइएको छ ।
वडा–२ का वडा सदस्य भीमबहादुर कार्की, कार्यपालिका सदस्य ज्ञानबहादुर नेपालीलगायत जनप्रतिनिधिले आफ्ना छोराछोरी आफ्नै वडाको सामुदायिक विद्यालयमा पढाउने गरेको उल्लेख छ । कार्कीका छोरा सन्दीपसिंह कार्की महेन्द्ररत्न माविमा र नेपालीका २ छोराछोरी नरेन्द्र जनता माविमा अध्ययनरत छन् ।
वडा–१ का वडा सदस्य चैतन्यप्रसाद चम्लागाईले गौरादहस्थित बोर्डिङ र वडा–७ की वडा सदस्य हिमादेवी नेपालीले पनि बोर्डिङ स्कुलमै आफ्ना छोराछोरी पढाउने गरेको पाइएको छ । लेखा अधिकृत सृजना राईले आफ्ना दुवै जना छोराछोरीलाई निजी स्कुलमा पढाउँछिन् । २०८० वैशाख १९ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने बाध्यकारी निर्णय गरे पनि त्यसको पालना नभएको पाइएको हो ।
यद्यपि, शिक्षा ऐनले जनप्रतिनिधि, शिक्षक र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । तथापि सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन कार्यपालिकाले निर्णय गरेको पालिकाको सूचनामा उल्लेख छ । सामुदायिक विद्यालयका शिक्षकहरू नै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन लैजान्छन् भन्ने गुनासो आइरहेका बेला कमल गाउँपालिकाको निर्णयलाई सर्वसाधारणले भने सकारात्मक रूपमा लिएको पाइएको छ ।
पालिकाका २५७ जना शिक्षकमध्ये ५७ जनाले मात्र सामुदायिक विद्यालयमा र ५३ जनाले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । वडा–७ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक रामकुमार सुब्बाले आफ्ना २ जना छोराछोरीलाई आफूले पढाउने विद्यालयमै पढाउने गरेको जनाइएको छ । उनका छोराछोरी कक्षा ४ र ६ मा पढ्छन् ।
सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक प्रभाखर काफ्लेका दुवै छोराछोरी निजी विद्यालयमा पढ्ने गरेको पाइएको छ । पालिकाका ३९ जनप्रतिनिधिमध्ये ४ जनाले, ११८ जना कर्मचारीमध्ये ६ जनाले मात्र आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने गरेको पाइएको छ ।
प्रतिक्रिया