झिकुखोलाले बगाएका गगन भण्डारीको शव सुनकोशी किनारमा फेला

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीका गगन ब. भण्डारी (स्नेही नाम मेच्छेली दाइ) झिकुखोलाले बगाएर बेपत्ता भएपछि रातभर गरिएको खोजी कार्यपछि आज उनको शव फेला परेको छ ।

शुक्रबार राति करिब ८ः४५ बजे आफ्नै धानको खेतमा पानी लगाइरहेका बेला आएको झिकुखोलाले उनलाई बगाएका थियो । त्यसयता स्थानीय बासिन्दा, प्रहरी र खोज तथा उद्धार टोलीले निरन्तर खोजी गर्दै आएका थिए ।

आज बिहान सुनकोसी नदीको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार शवको टाउकोमा सामान्य चोट लागेको र कानबाट रगत बगेको देखिएको छ ।

घटनापछि गाउँ शोकाकुल भएको छ । सादा, सहयोगी र मिलनसार व्यक्तित्वका रूपमा परिचित गगनको निधनले गाउँ शोकमग्न भएको छ । उनी सक्रिय कृषकका रूपमा परिचित थिए ।

झिकुखोला पाँचखाल हुँदै सुनकोशीमा मिसिने भएकाले खोजी कार्य जटिल भए पनि प्रहरी र स्थनीय जनप्रतिनिधि समेतको प्रयासले शव ११ बजे फेला परेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेले उनी बेपत्ता भएको एरियादेखि सुनकोसी नदीको किनारमा आसपास बसोबास गर्नेहरूलाई यसअघि नै सूचना जारी गरी सतर्क रहन अपिल गर्दै आएको छ ।

प्रतिक्रिया