स्याफ्रुबेँसी–रसुवा सडकखण्ड ९० प्रतिशत खुल्यो, स्थानीयद्वारा राहतको महसुस

रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशतमर्मत सम्पन्न भएको छ । बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो ।

तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा २४ असारमा आएको बाढीका कारण बिग्रेको सो सडकखण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको सो राजमार्ग सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र स्थानीय तह समेतको सहयोग र सहकार्यमा राजमार्ग खुलाउने काम तीव्र गतिमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ‘लिङ्लिङ’ भिरबाहेक अन्य स्थानमा सडकको अवरोध हटाउने काम सम्पन्न भएको, विपद् व्यवस्थापनअन्तर्गत अहिले सडक खुलाउने काम करिब ९० प्रतिशत पूरा भएको, यही ३२ असार बुधबार साँझसम्म लिङ्लिङको ‘ट्रयाक’ खुलाउने प्रयास भइरहेको र यथासक्य चाँडो सडक सञ्चालन गरी भयभित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अहिलो यहाँ सबै एकजुट भएको अवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका क्रममा यथासक्य चाँडो राजमार्ग खुलाउन निर्देशन दिएसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय, सडक सुधार आयोजना तथा स्थानीयतह समेतको सहयोग र सहकार्यमा तीव्र गतिमा काम भइरहेको स्थानीय नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनले भने, ‘अकल्पनीय बाढीका कारण जनजीवन त्राहीमाम भइरहेको अवस्थामा यति छिटो राजमार्ग खुल्ला भन्ने कल्पनासमेत गरेका थिएनौँ ।’

प्रधानमन्त्रीको निर्देशनपछि सडक मर्मतको काम द्रुतगतिमा अघि बढ्दा राहतको महसुस भएको उनले बताए । सडक मर्मतपछि रसुवागढीस्थित टिमुरे क्षेत्रमा खाद्यान्न तथा तरकारी र औषधिको आपूर्ति सहज भई जनताले राहत पाउने भएका हुन् । अब बिरामी परिहाले पनि आत्तिनुपर्ने अवस्था छैन ।

बाढीका कारण अवरुद्ध भएको विद्युत् तथा टेलिफोन सेवा सञ्चालन भएको छ । सो राजमार्गअन्तर्गत विभिन्न ठाउँमा चँुडिएका तार जोडने काम भइरहेको र शान्ति सुरक्षालाई प्राथमिकता दिएकोे रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।

सप्रजिअ अधिकारीका अनुसार रसुवागढीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई निकालेको र बाँकी ४ वटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ ।
टिमुरेस्थित भन्सार ‘यार्ड’मा राति बाढी पस्दा ४० वटा मालवाहक डिब्बा बगाएको जानकारी दिँदै स्थानीय व्यवसायी वाङछिरिङ तामाङले क्षतिको यथार्थ विवरण लिई बाढीपीडित व्यवसायीलाई राहतको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे । असहज परिस्थितिका बाबजुद करिब ९० प्रतिशत सडक मर्मतको काम यति छिट्टै पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै बाढीपीडितसमेत रहेका तामाङले अभिभावकका हैसियतले राज्यबाट आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया