काभ्रे । पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा नगरस्तरीय मेलमिलापकर्ता भेला तथा सम्मान कार्यक्रम गरेको छ । न्यायमा पहुँच, सामाजिक सद्भाव र स्थानीय विवाद समाधानमा सक्रिय भूमिका निर्वाह गरिरहेका मेलमिलापकर्ताहरूको उपस्थिति र सम्मानले कार्यक्रममा विशेष ऊर्जा थपिएको थियो ।
कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख एवं न्यायिक समितिकी संयोजक गीता बन्जारा सहभागी भएर छलफल गरिएको थियो । नगरका सबै १२ वडाबाट प्रतिनिधित्व गर्दै उपस्थित ४९ जना सूचीकृत मेलमिलापकर्ताहरूबीच न्यायिक निरूपण, मेलमिलाप प्रक्रियाको चुनौती र सुधारका उपायमाथि गहन छलफल भएको थियो ।
कार्यक्रममा मेलमिलापकर्ताहरूको योगदानको मूल्यांकन र सम्मान गरिएको थियो । यस अवसरमा वडा नं. २ की सरस्वती आचार्य र वडा नं. ५ का विनोद केसीलाई मेलमिलाप कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत नगद ४ हजार ४४४ रुपैयाँसहित सम्मान गरिएको छ । उनीहरूको निरन्तर सक्रियता, निष्पक्षता र समर्पणप्रति समितिले उच्च कदर प्रकट गरेको उपप्रमुख बन्जाराले बताइन् ।
न्याय पहुँचमा मेलमिलापकर्ताको भूमिका
कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले मेलमिलापकर्ताहरूलाई स्थानीय तहमा न्याय प्रवाहको मेरुदण्ड भनी वर्णन गरे । उनले भने, ‘न्यायालयभन्दा पहिले मेलमिलापकर्ताको निर्णयले नागरिकलाई राहत दिने काम भइरहेको छ, अझ प्रभावकारी प्रणाली निर्माणमा नगरपालिका प्रतिवद्ध छ ।’
त्यस्तै उपप्रमुख गीता बन्जाराले भनिन्, ‘मेलमिलापकर्ताको कार्य निष्पक्ष र मानवता–केन्द्रित हुनुपर्छ, अब हामी प्रशिक्षित र व्यावसायिक मेलमिलापकर्ताको सञ्जाल विस्तार गर्दै छौँ ।’
कार्यक्रममा मेलमिलापकर्ताहरूबीच अनुभव आदानप्रदान, कानुनी परामर्श प्रक्रिया तथा महिला, बालबालिका र कमजोर वर्गसँग सम्बन्धित मुद्दा कसरी समाधान गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरियो । न्यायिक समितिको आगामी योजना अनुसार मेलमिलापकर्तालाई आवश्यक तालिम सामग्री र समन्वयको व्यवस्था विस्तार गरिँदै छ ।
प्रतिक्रिया