काठमाडौँ । अमेरिकाको ‘सरप्राइजिङ स्टेप’पछि इजरायल र इरानबीच युद्धविराम भएको छ । १२ दिन लामो युद्धपछि मंगलबार दुवै देश युद्धविरामका लागि सहमत भएका हुन् ।
इजरायल र इरानबीच युद्ध जारी रहेकै बेला गत आइतबार राति अमेरिकाले इरानका ३ वटा परमाणु क्षेत्रमा भिषण आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय लिन २ साता कुर्ने बताएको केही समयमै ‘सरप्राइज’ रूपमा फोर्दो, नतान्ज र इस्फहानमा आक्रमण गरिएको हो ।
त्यसको बदला लिँदै इरानले पनि सोमबार राति कतारस्थित अमेरिकी सेनाको अल–उदैद एअरबेसमा आक्रमण ग¥यो । अमेरिकाको आक्रमण र इरानको प्रत्याक्रमणपछि धेरैले युद्ध थप चर्किने आकलन गरिरहेका बेला मंगलबार एक्कासि दुवै देश युद्धविराम गर्न सहमत भएका हुन् ।
इरानले एअरबेसमा आक्रमण गरेको बदलामा अमेरिकाले पुनः आक्रमण गर्न सक्ने भयका बीच मंगलबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्पले ‘सरप्राइज’ दिँदै इजरायल र इरानबीच तत्काल युद्धविराम हुने बताए । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार इरानले कतारको अमेरिकी बेसमा आक्रमण गरेलगत्तै कतार सरकारले युद्धविरामका लागि मध्यस्थता गरेको थियो । अन्तर्राष्ट्रिय समाचारअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई यो प्रयासका लागि धन्यवाद दिएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न सहमत भएको बताए । नेतन्याहूले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई सम्बोधन गर्दै इरानविरुद्धको १२ दिने अपरेसनमा आफ्नो युद्ध लक्ष्य पूरा गरेको बताएका थिए । युद्धका क्रममा इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटहरूमा पनि क्षति पु¥याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको नेतन्याहूको दाबी छ । यद्यपि युद्धविरामको उल्लंघन भएमा भने कडा जबाफ दिने उनको चेतावनी छ ।
यता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो सेनाले इजरायली सेनालाई हार स्वीकार गरेर युद्धविराम गर्न बाध्य बनाएको दाबी गरेको छ । इरानले पनि युद्धविराम आफ्ना लागि स्वीकार्य भएको बताउँदै यसलाई इजरायलले उल्लंघन गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
युद्धविराम घोषणापछि पनि हानाहान
ट्रम्पले युद्धविराम प्रस्ताव घोषणा गरेको केही घन्टा नबित्दै इरानले इजराइल लक्षित मिसाइल आक्रमण गरेको थियो । सो आक्रमणमा कम्तीमा ४ जना इजरायलीको मृत्यु भएको थियो भने आवासीय भवनहरू तहसनहस भएका छन् । लगत्तै इजरायलले पनि इरानका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो । उत्तरी इरानमा भएको सो आक्रमणमा कम्तीमा ९ जनाको ज्यान जानुका साथै ४ वटा घर ध्वस्त भएका छन् । ३३ जना घाइते भएका छन् ।
आफूले जितेको तीनै पक्षको दाबी
युद्धविरामपछि अमेरिका, इरान र इजरायल सबैले आफूले जितेको दाबी गरेका छन् । इजरायलले इरानलाई परमाणु बम बनाउन रोक्न सफल भएको भन्दै जितको दाबी गरेको छ । यसैगरी, अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको हमलामार्फत् संसारलाई शान्तितर्फ अग्रसर गराएको भन्दै जितको दाबी गरेको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफ्नै प्रयासमा मध्यपूर्वमा स्थायी शान्ति कायम हुने बताए ।
इरानले पनि इजरायलमाथि लगातार आक्रमण गरेको तथा अमेरिकाले ३ आणविक केन्द्रमा आक्रमण गरे पनि खासै क्षति नभएको भन्दै यस १२ दिने युद्धमा आफ्नो जित भएको दाबी गरेको छ ।
युद्धविरामपछि अमेरिकाको चुनौती
युद्धविरामपछि ट्रम्पसामु इरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्न सक्नु सबभन्दा कठिन कार्य ठानिएको छ । ह्वाइट हाउसले इरानको परमाणु हतियार कारखाना पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ । तर, इरानले पर्यवेक्षकलाई स्थलगत भ्रमणका लागि अनुमति नदिएसम्म त्यहाँको वास्तविक अवस्था कसैलाई थाहा हुने छैन । अमेरिकाले पछिल्लो पटक इरानसँग यस्तो सम्झौताबारे कुरा गरेको थियो । त्यसबेला त्यस्तो दस्ताबेजमा हस्ताक्षर गर्न २ वर्ष लागेको थियो । ट्रम्पले त्यसबाट हात झिकेपछि त्यो सम्झौता रद्द हुन पुगेको थियो ।
नेपालीहरूमा हट्यो त्रास
लगातार १२ दिनको युद्ध तथा सोमबार राति कतारको एयरबेसमा इरानी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपाली थप आतंकित बनेका थिए । मंगलबार युद्धविराम भएपछि भने मध्यपूर्वमा रहेका नेपालीहरूले आफू सुरक्षित भएको महसुस गरेका छन् । मध्यपूर्वमा १० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । यीमध्ये कतारमा मात्रै ४ लाखभन्दा बढी नेपाली छन् ।
प्रतिक्रिया